Social Icons

बृत्तचित्रमा चिसापानी


  • देवेन्द्र कार्की
खोटाङ जिल्लाको दोश्रो प्रमुख व्यापारी केन्द्र चिसापानी गाविसको पर्यटन प्रर्वद्धन एवं त्यहाँको विकास निर्माणको गतिलाई जनमानसमा पुर् याउन धरान-१५ का एक युवाको एकल प्रयासमा वृत्तचित्र निर्माण गरिएको छ ।
चिसापानी-९ छेतुवामा जन्मेर धरानमा बस्दै आएका २१ वर्षीय सुमन बान्तवाले उदयपुरको बेलटारदेखि झण्डै ८ घण्टाको लगातार पैदल यात्रापछि पुगिने रमणिय चिसापानी बजारको वृत्तचित्र तयार गरेका छन् ।हरेक विकास निर्माण तथा पर्यटन प्रवद्र्धनबाट पछि परेको खोटाङ जिल्लाको चिसापानी व्यापारीक केन्द्र मानिन्छ । पदयात्राका लागि ठूलो सम्भावना बोकेको चिसापानीको बारे बनाइएको वृत्त चित्रमा बेलटारदेखि चिसापानीसम्मको दृष्य कैद गरिएको छ ।
झण्डै ५० मिनेट लामो वृत्तचित्रमा पहाडी जनजिवन प्राकृतिक दृष्य सुन्दर हरियाली हराभरा खेतवारी लगायत त्यहाँको जीवनशैलीको यर्थाथ तस्वीर कैद गरिएको छ । वृत्तचित्रको गुणस्तरमा केही कमजोर भए पनि सो वृत्तचित्र हेरेपछि त्यहाँ नपुगेका जो कोहीलाई एक पटक पद यात्रा गर्ने इच्छा जान्छ । बेलदारबाट करि ८ घण्टाको यात्रा र खोटाङको दिक्तेलबाट दुईदिनको पैदल यात्रापछि पुग्न सकिने चिसापानी रसिला सुन्तला पाउने ठाउँका रुपमा पनि परिचित छ । चिसापानी गाविसमा पर्ने घोर्ले का सुन्तला गाईघाट बेलटार राजविराज लहानलगायतका बजारमा प्रसिद्धि पाएको छ ।
विकट भइकन पनि पर्यटकिय क्षेत्रमा रमाइलो भएको तर प्रचार प्रसारको अभाव खड्किएकाले वृत्तचित्र मार्फत चिसापानीलाई चिनाउन आफूले प्रयास गरेको वृत्तचित्र निर्माता बान्तवाले बताए । पाँच दिनसम्म दृष्य छायांकन गरी करिव एक महिनाको लामो प्रयासपछि वृत्तचित्र तयार गर्न सफल भएको उनले सुनाए । चिसापानी पर्यटकिय दृष्यले घुम्न लायक छ पश्चिम नेपालका धान्द्रुक घोडेपानी सुरुवारीभन्दा कमी नभए पनि यातायात असुविधा र प्रचार प्रसारको कमिले ओझेलमा परेको छ । सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षको रुपमा मनाइरहेको छ । पदयात्राको नयाँ रुटहरु पहिचान भइरहेको छ । चिसापानी पनि पदयात्राको लागि नयाँ गन्तव्य बन्न सकोस भनेर आफूले मेहनत गरेर वृत्तचित्र तयार गरेको उनले बताए ।
उनले तयार गरेको वृत्तचित्रमा बेलटारदेखि आफैलाई थिच्ला जस्तो ढाकर भरी सामान बोकेर सागुरोबाटोमा उकाली ओराली गर्ने बटुवा दिक्तेलसम्म सामान ओसार पसार गर्न प्रयोग भएको सयौं खच्चड लगायत स्थानीयवासीको जीवनशैलीको दृष्य पाउन सकिन्छ । पहाडी खेतका गरामा हराभरा धान जंगलमा फूलेको लालिगुराँस साँस्कृतिक हाट बारको चहल पहल र त्यहाँको जीवनशैलीको दृष्य वृत्तचित्रको थप आकर्षणको रुपमा लिन सकिन्छ ।
व्यक्तिगत लगानीमा तयार पारेको वृत्तचित्रको आलेख र दृष्य सम्पादन बान्तवा स्वयंले गरेका छन् । वृत्तचित्रको उद्घोषणमा भने अवसर मादेनले साथ दिएका छन् । चिसापानीको श्रब्य दृष्य नामको वृत्तचित्र बजारमा पुर् याइसकेको बान्तवाले बताएका छन् ।