Social Icons

विपी प्रतिष्ठानमा भीसीको दौड धुप सुरु

  • देबेन्द्र कार्की
धरान, २२ पुसः पाँच बर्षका लागि नियुक्ति भएका विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति(भिसी) प्राडा बलभद्र प्रसाद(विपी) दासको पदावधी यही पुस २० गतेदेखि सकिएको छ । उनको पदावधी सकिएलगत्तै नयाँ भिसीका लागि दौडधुप सुरु भएको छ ।

प्रतिष्ठानमा कार्यरत डाक्टर तथा पदाधिकारीहरु नियुक्तिका लागि स्वास्थ्य मन्त्रालय तथा राजनीतिक दलका नेताहरुको शरणमा पर्न थालेका छन् । प्रतिष्ठानका केही डाक्टरहरु भीसि नियुक्तिका लागि ढुक्कै काठमाण्डौमा बसेर नेता तथा स्वास्थ्य मन्त्रिलाई रिझाउन लागेको बताइएको छ ।

प्रतिष्ठान मोफसलमा रहेको एक पृथक संस्थाका रूपमा स्थान बनाउन सफल रहेको छ । गुणस्तरीय स्वास्थ्यकर्मी उत्पादनमा यसको महत्वपूर्ण भूमिका रहेको छ । यसको मौलिकता भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) समान छ र उपचार पद्धति पनि त्यहीको अवधारणामा स्थापित रहेको यहाँका चिकित्सक बताउछन् । यसको गरिमालाई उच्च बनाउदै प्राडा दासले ५ बर्ष कार्यकाल पुरा गरेर उनी विभाग फर्माकोलिजीमा फर्किएका छन् । पुस २० देखि प्रतिष्ठानमा पनि भिसीको पद रिक्त भएको छ ।

को को छन् भीसीका दावेदार

राजनीतिक नियुक्ति हुने भएकाले भीसी नियुक्तिमा ठूलो चलखेल हुने गरेको छ । अघिल्ला कार्यकालमा पनि प्राडा प्राडा विपी दास, संगीता भण्डारी, प्राडा प्रल्हाद कार्की, प्राडा विएन यादव, प्राडा आरके रौनियार, प्राडा सिएस अग्रवालसँगको दौडमा प्राडा दास भीसी हुन सफल भएका थिए । यस पटक पनि यि सबै दौडमा भाग लिने बताइएको छ । प्रतिष्ठान उच्च श्रोतका अनुसार उनीहरु दौडधुपका लागि विमारी जाँच छाडेर काठमाण्डौ केन्द्रीत भएका छन् ।


प्राडा संगीता भण्डारी नाक कान घाटी विभागकी प्राध्यापक हुन । यस अघि पाटल हस्पिटलको उपकुलपति भईसकेकी हुन । उनी सरोजसिंह भण्डारीकी बैनी तथा डा.कार्कीकी श्रीमति हुन । डा. बाबुराम भट्टराईको पालामा उनी पाटनको उपकुलपति भएकी थिईन । प्राडा प्रल्हाद कार्की इन्टरनल मेडिसिन विभागका विभागीय प्रमुख थिए तर भिसीको पदावधी ७ दिन बाकी रहदा उनलाई हटाएर प्राडा संजिवकमार शर्मालाई विभागीय प्रमुखको जिम्मेवारी दिएको छ । उनी पूर्व राजको शासनकालको बेला अस्पताल निर्देशक भएका थिए । उनी यति बेला काङ्ग्रेस निकट मानिन्छन् ।

प्राडा विएन यादव फोरेन्सीक विभागका विभागीय प्रमुख थिए । उनलाई पनि प्रमुखबाट हटाइएको छ । उनी अहिलेसम्म लाभको पदमा छैनन् । तर लामो समयदेखि भीसीको दौडमा भने सहभागी हुदै आएका छन् । प्राडा आर के रौनियार रेडियोलोजी विभागमा छन् । उनलाई पनि भरखर विभागीय प्रमुखको जिम्मेवारबाट मुक्त गरिएको हो । उनी आफुलाई काङग्रेस निकट भएको बताउदै आएका छन् । उनी सिनेट सदस्य पनि हुन । प्रतिष्ठानका सिनियर प्राध्यापक पनि  हुन । उनका दाई गौरीशंकर रौनियार नेपाली काङग्रेस सुनसरीका नेता हुन ।

प्राडा सिएस अग्रवाल सर्जरी विभागका विभागीय प्रमुख थिए । उनलाई पनि सँगै पदमुक्त गरिएको छ ।  उनी कुनै दल निकट छैन्् । पूर्व उपकुलपति डा. शेखर कोईरालाका समकालिन मानिन्छन् । उनी पनि पुरानै भीसीका दावेदार हुन । प्राडा अग्रवाललाई भिसी बनाउन धरानका केही व्यापारीहरु लागि परेको श्रोतले बताएको छ । अग्रवालका लागि लगानी गर्न समेत तयार भएको बताइएको छ । हालका भीसी प्राडा विपी दास पनि अर्को कार्यकाल पनि सरकारले जिम्मेवारी दिए पुरा गर्न तयार भएको बताउदै आएका छन् । मन्त्रि तथा नेताका आसेपासेहरुले रकम  लिएर भिसी पदको बार्गेनिङ हुने गरेको श्रोतले बताएको छ ।

प्रतिष्ठान बाहिरबाट नुवाकोट स्थायी घर भएका डा. केदार नरसिंह केशीको नाम अगाडी छ । उनी नेपाली काङग्रेसका नेता अर्जुन नरसिंह केशी र स्वास्थ्य मन्त्रि गगन थापाका नातेदार हुन् ।

नेतासँग चाकडी गर्न शुरु

भीसी बन्नलाई सबै आकांक्षीहरुलाई नेताको चाकडी सुरु गरेका छन् । खुलेर लागेका छैन् तर व्यक्तिगत काम देखाउदै पालो पालो काठमाण्डौ धाउने काम सुरु भएको प्रतिष्ठान श्रोतले बताएको छ । ‘खुलेर लागेका छैन् तर नेता भेट्ने, चाकडी गर्ने काम सुरु भई सकेको छ ।’(प्रतिष्ठानका एक चिकित्सकले भने । प्रतिष्ठानभित्र काम गर्ने सबै चिकित्सकहरु विदा लिएर काडमाण्डौ केन्द्रीत रहेका छन् । राम्रा डाक्टर भिसीको दौडमा लागे पछि विमारी समेत विचल्नी परेका छन् । प्रतिष्ठान प्रशासनका अनुसार केही डाक्टरमहिनादिन अघिदेखि विदामा रहेका छन् ।

भीसी बन्न पैसाको चलखेल

भीसी नियुक्ति तथा पदाधिकारी नियुक्ति गर्दा पैसाको चलखेल हुने गरेको चर्चा प्रत्येक पाँच÷पाँच बर्षमा  चल्ने गरेको छ । पद पाउनेले यसबारे पद नपाउनेले चलाएको हल्ला भन्ने गर्छन् । तर नेताका आसेपासेहरुले उनीहरुबाट मोटो रकम लिने गरेको श्रोतले बताएको छ ।  प्रतिष्ठानलाई स्तरवृद्धि तथा आर्थिक श्रोत जुटाउन भने प्राडा दासले राम्रो भूमिका निर्वाह गरेको प्रतिष्ठानका कर्मचारीहरु बताउछन् । केही अधुरा काम बाकी रहेकाले दोश्रो कार्यकाल पनि सरकारले कामको मूल्याङ्कन गरेर जिम्मेवारी दिए पछि नहट्ने बताए ।

बरिष्ठलाई पाखा कनिष्ठलाई अर्शिवात

चलखेलमा सिनियरलाई पाखा लगाएर पावर प्रयोग गरि जुनियर नियुक्ति गर्दा बरिष्ठ प्राध्यापकहरुमा बैमनस्यता आउने गरेको छ । प्राडा दास भीसी भए पछि यहाँका केही डाक्टरहरुले प्रसासनले भनेको अटेर गरेको तथा प्रसासनलाई फेल्युयर बनाउन लागि परेको जस्ता कुरा पनि सार्वजनिक भएका थिए । यही कारण प्रतिष्ठानमा चिकित्सकहरुले आन्दोलन समेत गरेका थिए ।

यसरी हुन्छ नियुक्ति

प्रतिष्ठानमा ४ वटा पदमा राजनीतिक नियुक्ति हुने गर्छ । भीसी स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य मन्त्रि, सचिव र प्रधान मन्त्रिले तोकेका एक व्यक्ति सहितको ३ सदस्यीय टोलीले ३ जनाको नाम सिफारिस गर्छ । तीन जनाबाट प्रधानमन्त्रिले एक जनालाई भीसीलाई नियुक्ति गर्ने प्रावधान रहेको छ । अन्य शिक्षा अध्यक्ष, रजिस्टार र अस्पताल निर्देशक भने भीसीको सिफारिसमा स्वास्थ्य मन्त्रिले नियुक्ति गर्ने प्रावधान रहेको छ ।

उपकुलपति नियुक्तिका लागि सर्च कमिटि गठन

यता विभिन्न प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा नयाँ नियक्तिका लागि सर्च कमिटि गठन भएको छ । स्वास्थ्यमन्त्रि गगनकुमार थापाको संयोजकत्वमा तीन सदस्य समिति बनेको छ । समितिमा शिक्षासचिव शान्तबहादुर श्रेष्ठ, राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने एक सदस्य रहेने बताइएको छ ।    पाटनm कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि उपकुलपति रिक्त रहेको छ । पुस २० देखि विपी प्रतिष्ठान धरानमा पनि रिक्त भएको छ ।

प्रतिष्ठान भित्रैबाट भीसी बनाउन दवाव

प्रतिष्ठान भित्र काम गर्ने कर्मचारीहरुको संगठन कर्मचारी कल्याण समाजले भीसी नियक्ति हुदा प्रतिष्ठानकै सिनियर व्यक्ति नियुक्ति हुनु पर्ने अडान लिदै आएको छ ।  यहाँ पढेर यही काम गर्ने प्राध्यापक, डाक्टरहरुलाई राम्रो काम गदै जादा पदाधिकारीमा नियुक्ति पाईने भन्ने भयो भने उनीहरुलाई काम गर्न हौसला हुने समाजका अध्यक्ष सुजेन्द्र तामाङ बताउछन् । बाहिरबाट आउने भिसीले यहाँको वातवरण बुझन समय लाग्ने भएकाले प्रतिष्ठानलाई राम्रो बनाउन यहीका प्राध्यापकलाई नियुक्ति गर्नु पर्ने कर्मचारी बताउछन् । मोफसल बाहिर रहेको र आवासीय अवधारणामा कर्मचारी चिकित्सक कार्य गरिरहेकोले प्रतिष्ठानका चिकित्सक, कर्मचारीलाई पनि विभिन्न अवसर दिनु सरकारको जिम्मेवारी भएको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ बताउछन् । ‘मोफसलमा कार्य गर्ने आत्मबल सबैमा कम हुँदै जाने र सबै काठमाडौं केन्द्रित हुने होडबाजी चलीरहेको बेला सरकारले यसतर्फ ध्यान दिनु पर्दछ ।’( तामाङ भन्छन् ।