Social Icons

भेडेटार नपुगे यात्रा नै अधुरो !

  • देबेन्द्र कार्की 

धरानः सेताम्मे हिउँ फूल्ने कञ्चनजंघा र मकालु हिमालको काखमा लमतन्न परेको धनकुटा बजार र दक्षिणमा चारकोशे झाडी मास्दै फैलिएको सुन्दर नगर धरानलाई हेरेर बसेको पर्यटनग्राम भेडेटार पूर्वको पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदैछ ।
आकार्षणको केन्द्रविन्दु मानिएको पर्यटन ग्राम भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने गरेको छ । आधा भूभाग धरान र आधा धनकुटाको स्वामित्वमा रहेको भेडेटार पर्यटकको रोजाईको केन्द्र बन्दैछ ।

हिमश्रृंखला मकालु, मनास्लु, ल्होत्से र कुम्भकर्णको मनोरम दृश्य धनकुटा बजारको सुन्दरता अनि सेउती र सर्दुकोवीचमा अवस्थित धरानको मनमोहक दृष्य अवलोकन गर्न भेडेटार चढ्नेहरुको संख्या पनि अहिले दिनप्रतिदिन बढ्दैछ । कामको व्यस्थता र थकान बिर्सन प्रत्येक शनिबार भेडेटारमा पिकनिक जाने र मनोरञ्जनका लागि पुग्ने युवा पुस्ताको संख्या पनि वृद्धि भइरहेकै छ ।
तराईको उखरमाउलो गर्मी छल्ने आनन्ददायी गन्तव्य बनेको छ भेडेटार । चाँदीका लहर झै टल्केका हिमाल, तराईका सुन्दर फाँट अनि पूर्व पश्चिम फैलिएको चारकोशे झाडी र साँझको गोधुलीले कसको मन तान्दैनर भेडेटार पुगेपछि ।
नेपालको पूर्वी क्षेत्र भ्रमणमा आउनेहरु भेडेटार नपुगी फिरे भने उनीहरुको यात्रा अधुरो मानिन्छ । त्यसैले पनि पूर्व घुम्न आउनेहरु भेडेटार नपुगी फर्कदैनन । पश्चिम नेपालबाट झापा, मोरङ र सुनसरी आउनेहरु एक पटक भेडेटार उक्लिएर मात्र फर्कछन् ।
काम विशेषले काठमाडौंबाट विराटनगर आएकी रञ्जु भट्टराई गएको साता साथीसहित भेडेटार धरान घुमेर फर्किन । ‘मेरो घुम्ने रहर धेरै काम भएपनि एकदिन बसाई लम्व्याएर भेडेटार र धरान घुमे । भेडेटार नगएको भए त मेरो यात्रा अधुरै हुने रैछनी’ रञ्जुले हाँस्दै भनिन् ।
समुन्द्र सतहदेखि एक हजार चार सय ३० मिटरको उचाईमा रहेको भेडेटार धरानदेखि १६ किलोमिटर उत्तर र धनकुटादेखि ३२ किलोमिटर दक्षिणको सुनसरी र धनकुटाको संगमस्थल हो । एकैछिनमा चर्को घाम लाग्नु र एकैछिनमा कुहिरोले ढाक्नु भेडेटारको विशेषता हो । स्थानीय होटेल व्यवसायी जितेन्द्र रुम्दाल भन्छन्–‘छिनछिनको मौसम परिवर्तन हुनु पनि पर्यटक लोभ्याउने भेडेटारको आकर्षण नै हो ।’
भेडेटारका आकर्षण
तराईको सम्म भूमागदेखि १६ किमी मात्र माथि छ तर उच्च हिमाली भेगको जस्तो हावापानी भेडेटारमा पाइन्छ । यस्तै अनौठो हावा पानी भएको सुनेर नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार चाल्स्र वि.सं २०४० सालमा भेडेटार नै आइपुगेका थिए । उनले भेडेटारको अग्लो चुचुरोमा चढेर सगरमाथा चढनुको आनन्द लिएको अनुभव सुनाएर गएका थिए ।
पहिलो पटक विदेशी पर्यटन आएर चुचुरामा प्रवेश गरेका कारण उक्त चुचुराको नाम नै चाल्स्र प्वाइन्ट राखिएको छ । यो भेडेटार बजारदेखि पश्चिम तर्फ छ । हाल चाल्स्र चढेको चुचुरामा ३० फिट अग्लो टावर बनाइएको छ । यही टावर पर्यटकहरुको आकर्षणको केन्द्र विन्दु बनेको छ । जहाँ हजारौ पर्यटकहरु चढ्न तछाडमछाड गर्छन् । यो टावरबाट धरान धनकुटा सप्तकोशीको फाँट चारकोसे झाडी एंव तराईका मनमोहक फाट धित मरुन्जेल अवलोकन गर्न सकिन्छ ।
भ्यूटावरबाट विहानीपख देखिने दृष्य कैद गर्न प्रकृती प्रेमीहरुको लामै ताँती लाग्छ । सिजनको बेला टावरबाट दृष्य अवलोकन गर्न दैनिक सयौ पर्यटकहरु आउने गरेको टावर संचालकले बताए । यो टावरमा प्रवेश गर्न प्रतिव्यक्ति पाँच रुपैया र क्यामेरा सहित प्रबेस गर्दा १० रुपैया शुल्क लिने गरिएको छ । भारतबाट आउनेलाई भने २० रुपैया र अन्य मुलुकबाट आउनेलाई ५० रुपैया शुल्क निर्धारण गरिएको छ । पछिल्लो समय टावर चढ्नेको संख्या बढेको छ । दैनिक सात हजार भन्दा बढि शुल्क संकलन हुने गरेको छ ।
कामको व्यस्तता विर्सन कर्मचारी व्यापारीदेखि लिएर नवप्रेमी प्रेमिकाहरु आफ्नो प्रेमलाई रोमाञ्चक बनाउन धरानदेखि मोटरसाइकलमा भेडेटार घुम्ने गर्दछन् । बर्षायामको झरी बादल र पुष माघको ठन्डीको पनि प्रवाहा नगरी युवा यूवतीहरु भेडेटारको भ्यूटावर चढ्न पुग्छन ।
कार्तिकदेखि बैशाखसम्म पिकनिक खान पूर्व काकरभिट्टा पश्चिममा जनकपुरसम्मका आगन्तुकहरु भेडेटार पुग्ने गरेका छन् । प्रायः बढी युवायुवतीहरुको युगल जोडी रोमाञ्चित बन्न भेडेटार पुग्ने भएकाले यसलाई रियल लभर स्टेशन समेत नामकरण गरिएको स्थानियबासी बताउछन । माया प्रिती साट्न र विवाहित जोडी हनिमुनी मनाउन काठमाडौंदेखि पनि भेडेटार नै पुग्ने गर्दछन् ।
नाम्जेको आकर्षण
कतिलाई थाहा नहुन सक्छ–धनकुटाको नाम्जे गाउँ सिएनएनले गरेको सर्वेक्षणमा विश्वकै १२ औं गन्तव्य मध्ये आठौं उत्कृष्ट गन्तव्यको सूचीमा सूचीकृत छ । त्यही गाउँ अहिले दिनहुँ फेरिने क्रममा छ । त्यस ठाउँको चर्चा बढेसँगै अहिले टाढा–टाढाबाट त्यहाँसम्म पर्यटक जान थालेका छन् ।
साबिक भेडेटार गाविसको वडा नम्बर ७ मा पर्ने नाम्जे भेडेटारबाट मात्रै दुई किलोमिटरको दूरीमा छ । अहिले त्यहाँ साना होटल, होमस्टे प्रशस्तै खुलेका छन् । । त्यसबाहेक व्यवस्थित होटल, सरसफाइ, संग्रहालयको भवनसमेत निर्माण भएकाले पर्यटकको लर्को लागिरहेको छ । यहाँ होमस्टे राम्रो फस्टाएको छ । एक रात विताउन र मगरको हुर्रा नाच हेर्न पर्यटकहरु नाम्जेमा बस्ने गरि प्याकेज बनाएर आउने गर्दछन् ।
नाम्जे यति बेला नयाँ गन्तव्य बनेको छ । अहिले भेडेटारबाट नाम्जेसम्म पुग्न ठूला बस, जीप तथा मोटरसाइकल प्रमुख साधन हुन् । भेडेटारबाट नजिकै रहेकाले भेडेटार पुग्ने जो कोही नाम्जेसम्म पुग्छन् नै । भेडेटार र नाम्जे आसपासमै हुनुको फाइदा स्थानीयलाई पुगेको छ ।
नाम्जेबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु हिमालसमेत देख्न सकिन्छ । प्राकृतिक सम्पदा, रुखबिरुवा, स्वच्छ हावापानी नै नाम्जेको प्रमुख आकर्षण बनेको छ । मगर जातिको बाहुल्य रहेको नाम्जे क्षेत्र सांस्कृतिक विविधताले पनि चर्चित छ । विशेष गरी तिहारका बेला नाचिने हुर्रा नाम्जेको अर्को आकर्षण हो । अन्य जातिको समेत बसोबास रहेको यो क्षेत्रमा मिश्रित बसोबास तथा सोहीअनुसारको सांस्कृतिक विविधता र संस्कारले पर्यटक तानिरहेको छ ।
नमस्ते झरना
पूर्वका चर्चित पर्यटकीय गन्तव्यहरूमध्ये नमस्ते झरना पनि पर्छ । यो फरक गन्तव्यका रूपमा परिचित छ । तराईको उखरमाउलो गर्मी छल्न चिसोपानीसँग खेल्न झरनासम्म पुग्ने गरेको छन् । सरकारी बिदा र शनिवारको दिन यहाँ भिड लाग्ने गरेको छ ।
नमस्ते झरना पहाडी छाँगो हो । जहाँ ८० मिटर उचाइबाट झरेको पानीको फोहोरालाई झरनाका रूपमा देख्न पाइन्छ । एकदमै प्राकृतिक यो झरना तथा पानीको फोहोरासँग खेल्न अहिले दिनहुँ थुप्रै पर्यटक पुग्ने गरेका छन् । हाल दैनिक ३ सयभन्दा बढी पर्यटक पुग्ने गरेको झरना व्यवस्थापन समितिले जनाएको छ । भारतको विहार र पश्चिम नेपालबाट शैक्षिक भ्रमण तथा अवलोकनका निम्ति पनि समूहमा झरना हेर्न पुग्ने गरेका छन् ।
पर्यटक बढ्न थालेसँगै नमस्ते झरना पुग्ने बाटो अहिले व्यवस्थित गरिएको छ । त्यस्तै, आवश्यक अन्य पूर्वाधारसमेत निर्माण हुँदैछ । नमस्ते झरनालाई जिल्ला विकास समितिले करिब दुई दशकअघि नै पर्यटकीयस्थलको रूपमा सूचीकृत गरेको थियो ।
भेडेटार कसरी पुग्ने
भेडेटार पुग्न काठमाडौंदेखि हवाईजहाजबाट बिराटनगर ओर्लिए पछि ट्याक्सीमा करिव ५५ किमी दुरी यात्रा गरेर पुग्न सकिन्छ । दिवा वा रात्री सेवाबाट काडमाडौंबाट सिधै धरानमा उत्रिएर भानुचौकबाट रिजर्वका ट्याक्सीमा चढेर भेडेटार पुग्न सकिन्छ । भेडेटार जान धरानमा प्रशस्त रिजर्व ट्याक्सीहरु पनि पाइन्छन् । ट्याक्सी रिर्जव गर्न समस्या भए धरानको भानुचौक पूर्वपटि धरानबाट राजारानी तेह्रथुम भोजपुर खादबारी बसन्तपुर पाख्रिवास लगायत ठाउँमा जाने प्रसस्त सार्वजनिक बसहरु पाईन्छन । ती बसमा प्रतिव्यक्ति ५० रुपैया भाडा तिरे पछि भेडेटार सम्मको यात्रा गर्न सकिन्छ ।
धरानबाट आजभोली अटोरिक्साहरुले पनि भेडेटारसम्म पुर्‍याउने गरेका छन् । भेडेटारबाट दुई किमी पूर्व नाम्जे र दुई किमी उत्तरको ओरालो झेर पछि नमस्ते झरना पुग्न सकिन्छ । अटो वा ट्याक्सीलाई यहाँ पुग्न केही थप रकम दिनुपर्ने हुन्छ ।
के छ सुविधा
भेडेटारमा धेरै दिन बसेर दृष्यावलोकन गर्न चाहाने पर्यटकहरुका लागि पनि सुविधायुक्त दर्जनौ होटल तथा लजको व्यवस्था छ । जाडो मौसममा घुम्न जानेहरुका लागि तातोपानीमा भिजाएको कोदोको तूङबा खाएर रमाउने पर्यटकको संख्या पनि धेरै हुने गर्दछ । प्रायः भेडेटार घुम्न जानेहरु कोदोको तूङबा र रागाको सुकुटी नचाखी फर्कदैनन् ।
नेपालीपन रुचाउनेहरुका लागि गुन्द्रुक सिन्की लगायतका परिकार पनि पाइने होटेल व्यवसायीहरुको भनाई छ । विदेशी पर्यटकहरुका लागि इण्डियन र चाईनिज डिस पनि तयार हुन्छ ।
सुधारको आवश्यकता
भेडेटार घुमघाम गर्न महत्वपूर्ण गन्तव्य भए पनि यसको प्रचारप्रसार भने कमै छ । काठमाडौं आउने विदेशी पर्यटक पूर्वका गन्तव्यको जानकारी नपाएर पोखरातिर पुग्ने गरेका छन् । पर्यटन बोर्डले पनि पूर्व तिर पर्यटक ल्याउन कुनै आकर्षक योजना अघि सारेको छैन । पूर्वलाई पर्यटन बोर्डले सौतेलो व्यवहार गरेको पर्यटन व्यवसायीहरुको गुनासो छ ।
यस्तो सुन्दर भेडेटारको थप पर्यटन प्रवद्र्धन कसरी गर्ने भन्ने कुरा सबैमा चासोको विषय बन्नु पर्ने धरानका पर्यटन व्यवसायी बासुदेव बराल बताउछन् । भेडेटारलाई व्यवस्थित र आकर्षित गन्तव्यस्थल बनाउने हो भने नेपालभरका पर्यटन प्याकेज सञ्चालन हुनसक्ने पर्यटन व्यवसायी बरालको भनाई छ ।
बढ्दो पर्यटकको चापलाई हेरेर सुविधासम्पन्न होटेल थप्नुपर्ने आवश्यकता छ । हाल साना तथा ठूला होटलले दैनिक ५०/६० जना पर्यटकहरुलाई मात्र बस्नकालागि सेवा प्रदान गर्न सक्छन । गोष्टी सेमिनारलगायतको ठूलो संख्यामा हुने भेलाका लागि ठूला हलहरुको आवश्यता पनि खडेकिएको छ । यसलाई व्यवस्थापन गर्न नयाँ योजना बनाउँदै गरेको व्यवसायीहरुको भनाई छ ।
पर्यटनको सम्भावना
भेडेटार धनकुटा जिल्लामा पर्ने भए पनि हरेक क्षेत्रमा धरानसँग सम्वन्ध जोडिएको छ । राजधानी लगायत बाह्य मुलुकबाट आउने पर्यटकहरु धरानको एकदिनको बसाई पछि भेडेटार पुग्छन् । भेडेटारको प्रवेशद्धार धरान भएकाले भेडेटार आउने पर्यटकहरुको पहिलो गन्तव्य धरान बन्ने गर्दछ ।
धरानलाई पनि पर्यटकीय क्षेत्रको रुपमा व्यापक विस्तार गर्नु पर्ने आवश्यकता देखिएको छ । पुर्वको पर्यटकीय क्षेत्र धरान र भेडेटारलाई बनाउन धेरै सम्भावना छन् । धरानबाट भेडेटारसम्म केवलकार विस्तार गरिने हो भने पश्चिममा प्रसिद्धि कमाएको मनकामना जस्तै भेडेटारको पाथिभरा मन्दिरले पनि प्रर्यटकलाई आकर्षण गर्न सक्छ । यहाँको पर्यटकीय विकास गराए अधिक मात्रामा पर्यटकहरु भित्राउन सकिने पूवृको पर्यटन विकासका अभियन्ता कृष्ण शाह बताउँछन् ।
यहाँ नजिक रहेको साँगुरीगढी एउटा महत्वपूर्ण स्थल हो । निशानदेवी, पाचकन्या, बुढासुब्बा सेउतीमाई तमोरमाई लेउतीमाई लगायतका ९/१० वटा देवीदेउताहरुका मन्दिरहरु छन् । यी पनि पर्यटनका गन्तव्यको रुपमा विस्तार गर्न सकिन्छ । पछिल्लो समय भेडेटारबाट धरानसम्मको पाराग्लाईडिङ पनि पर्यटकहरुका लागि आकर्षण बनेको छ । पोखरामा मात्र सीमित पाराग्लाईडिङको व्यवसायीक विकास र विस्तार गर्न सके पोखरा जाने विदेशी पर्यटक पूर्वमा तान्न सकिन्छ ।
यातायात विद्युत संञ्चारलगायतका पूर्वाधारको विकास गर्न सके भेडेटार सबैका लागि सधैको गन्तव्यस्थल बन्न सक्छ । यी क्षेत्रको प्रचार प्रसार हुन सके धरानमा पनि आर्थिक सामाजिक स्तरमा बृद्धि हुनेमा दुई मत छैन ।