Social Icons

गाउँघरमा दशैको रौनक

  •  देवेन्द्र कार्की
भीडभाड र कोलाहलले भरिएका शहरहरू यति बेला लगभग रित्ता छन् । उपत्यका यति बेला फराकिलो बनेको छ । मुलुकका अन्य शहरहरू पनि क्रमशः रित्तिँदैछन् । शहरबाट एकाएक हराएका मानिसहरूको भीड गाउँमा देखिएको छ । दशैँको पूmलपातीअघि नै गाउँ भरिएको छ । शहरलाई शून्य बनाएर सबै मानिस गाउँमा शाखा–सन्तानको उपस्थितिले घरहरू निकै उज्याला र भरिभराउ भएछन् । छरछिमेक, इष्टमित्र, आफन्त र घरपरिवारसँग भेटघाट गर्ने बहाना बनेको दशैँको रौनक गाउँमै छ । नजिकको दुर्गा भगवती मन्दिर, गाउँलेहरूले निर्माण गरेको दुर्गा पूजा स्थलमा नेपाली, हिन्दी गाना तथा भजनले गुञ्जायमान छन् । नौरथादेखि नै बिहान ४ बजे नै हार्मनीको भैरवी रागसहितको भजन–कीर्तनको ध्वनिले सबै गाउँले झिसमिसेमा ब्युँझन्छन् । यहाँका एकसे एक गायक–वादकहरूले झुमीझुमी भक्तिरसका भाका ओकल्दा माहौल नै अर्कै बनेको छ । नौरथाभरि भजन–कीर्तन र मेलाले गाउँ रोमाञ्चक बनेको छ ।

    जता गयो, उतै रमाइलो । चोक–चोकमा पिङ हालिएका छन् । शहरिया केटाकेटी खुब रमाएका छन् । वल्लो घर, पल्लो घर आउजाउको क्रम बढेको छ । हार्दिकतापूर्वक आतिथ्यताले गाउँ सुशोभित छ । केटाकेटीहरू गाउँबाट शहर फर्कन आनकानी गर्न थालिसकेका छन् किनकि उनीहरूका लागि गाउँ नै स्वर्ग छ ।
उता जुवातास खेल्नेहरूको जमात् पनि आफ्नै धूनमा छन् । घाँसे मैदानमा पूmटबलको रौनक उस्तै छ । जित्नेलाई रातो भाले, घोर्ले खसी उपहार छ । दशैँमा भाले कप र खसी कप जारी छन् । यसले पनि गाउँमा रौनक थप्ने गरेको छ । गाउँको दशँैमा यसले निकै उत्साह थपेको छ ।
यो त भयो तराईका गाउँमा दशैँको उत्साह । पहाडमा झन् रमाइलो छ । खरले छाएको रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउँदै घर पोत्ने चटारो गाउँमा छ । दशैँलाई भन्दै घोर्ले खसी घरको पालीमा बाँधिएको छ । केटाकेटीहरू खसीलाई पोस्न तल्लीन छन् । दशैँलाई साँचेर राखेको काँक्रो थाँक्रामै पाकेर पट्पटी फुटेर झर्न लागेको छ । लिङ्गे पिङ गाउँ–गाउँमा हालिएका छन् । दशैँलाई भन्दै टेको लगाएर राखेको केरा बोटमै पहेँलपुर भएको छ । दशैँका लागि चिउरा कुट्न रातभरि गाउँका ढिकी भक्राइट्याइ–भक्राइट्याइ गरिरहेका छन् । यति बेला कुवा–पँधेरो र बाटोघाटो सफाचट बनाइएको छ ।
पहिले र अहिलेको दशै“
यद्यपि पहिले दशैँमा हुने उत्साह भने हराउँदै गएको छ । पहाडमा विगतमा नयाँ लुगा लगाउन दशैँ पर्खनु पर्दथ्यो । मिठोमसिनो अर्थात् चामलको भात खान दशैँ नै कुर्नु पर्दथ्यो । पेटभरि खाने, मिठो खाने र राम्रो लुगा लगाउने पर्व दशैँ नै थियो । त्यही भएर केटाकटीहरू दशैँ सकिनेबित्तिकै अर्को दशैँको प्रतीक्षा गर्थे । गाउँमा पिङ लगाउन गाउँभरिबाट बाबियो भेला पारेर लठारो बनाइन्थ्यो । तिहारसम्म पिङ खेल्न पाइन्थ्यो । अघिपछि एक फिर्को मासुसँग कचौराभरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङ्गै खसी ढालिन्थ्यो । मुग्लानबाट आउने अघिपछि भरियालाई भारी बोकाएर टेप रेकर्डर घन्काउँदै गाउँ छिर्थे ।
तर अहिले दशैँका आयामहरू फेरिएका छन् । हातमा पैसा भए मासु खान, चामलको खात खान दशँै नै पर्खनुपर्ने अवस्था छैन । साप्ताहिक रूपमा मासु र दैनिक चामलकै भात खाने औसत नेपालीले गाउँमा पनि हैसियत बनाइसकेका छन् । जुनसुकै समय नयाँ लुगा किनेर लगाउन सकिन्छ । गाउँ–गाउँमा सुविधासम्पन्न पसलहरू खुलेका छन् । दुई दिनसम्म तराईबाट ढाकरमा बोकेर दशैँलाई पहाड लैजानुपर्ने दिन गएका छन् । गाउँमा सबै सर्दाम पुग्ने गर्दछन् ।
दशैँका विषयमा आलोचना, टीकाटिप्पणी जे भइरहे पनि गाउँमा सबै समुदायका मानिसहरूले भेटघाट, आशीर्वाद साटासाट गर्ने एउटा अवसरको रूपमा मनाउँदै आएका छन् । समयअनुसार दशँैका आयामहरू पनि फेरिँदै गएका छन् ।  दशैँबारे शहरमा राजनीतिक बहस भए पनि गाउँघरमा उत्साहपूर्वक दशैँ मनाइरहेका छन् । दशैँलाई एउटा साझा पर्वको रूपमा सद्भावपूर्ण मनाउँदै आएका छन् ।
क्षेत्री, बाहुन, बहुसङ्ख्यक तराईवासी, जनजाति समुदायमा मित्रता, आस्था र प्रेमको प्रतीकको रूपमा दशैँ मानिँदै आएको छ । यही कारण पनि मेलमिलापको संस्कृति गाउँबाट थालनी भएको मान्न सकिन्छ । आपसी रिसराग बिर्सिएर मित्रजन, छरछिमेकबीच भेटघाट, शुभकामना साटासाट गरेर दशैँ मनाउने परम्परा गाउँबाटै शुरु भएको हो । यो क्रम जारी छ । दशैँले राष्ट्रिय एकता र अखण्डताको सन्देश प्रवाहसमेत गरेको छ ।

(असाेज ११, २०७४ काे ब्लाष्ट दैनिकमा प्रकािशत)