-देबेन्द्र कार्की
म्याङ्लुङ / मान्छेहरु सरकारी जागिर भनेपछि मरिहत्ते गर्छन् । सरकारी जागिरले मात्र परिवार र सन्ततिको भविष्यको उज्ज्वलताको कल्पना गर्छन् । तर तेह्रथुमस्थित म्याङ्लुङमा भने एकजना फरक विचारका व्यक्ति भेटिए । २०४५ सालतिर भूमिसुधार कार्यालयमा मुखिया पदमा जागिरे भएका थिए । पछि कोष तथा लेखा नियन्त्रण कार्यालयमा सुब्बा पदमा लोकसेवा आयोगबाट नाम निकाले । २०५२ सालतिर होला सुब्वामा बढुवा हुनेबित्तिकै उनले सरकारी जागिरबाट राजीनामा दिए ।
उनी हुन ४५ वर्षीय ढङ्गप्रसाद पराजुली । सानैदेखि केही गरौं भनेर सोच्ने पराधीन मन नपराउने पराजुलीलाई कार्यालयमा भिषगा धपाउदै बसेर मूल्यवान समय व्यतीत गरेको पटक्कै मन पर्दैन थियो । आफ्नै ढङ्ग सीप बेढङ्गमा बिताउन चाहेनन् । ऊर्जाशील मनलाई जागिरको परिधिभित्र बाँध्न सकेनन् । त्यही भएर माओवादीले जनयुद्ध सुरु गरेकै वर्ष जागिरबाट उनले विद्रोह गरे । सुविधासम्पन्न राजधानीको कोष तथा लेखा नियन्त्रण कार्यालयको जागिर छोडेर गाउँतिर हुइँकिए । उनले केटाकेटीदेखि छिमेकी एकजना भाउजूसँग टोपी बन्न सिकेका थिए । सीप सिकेपछि २० रुपैयाँको धागो खरिद गरी टोपी बुन्ने कार्यलाई निरन्तरता दिँदैआएका थिए । ढाका उद्योगबाट नै जीवन स्वतन्त्ररुपले चलाउन सकिन्छ भन्ने उनले २०४० तिरै सोचेका थिए । त्यही वर्ष होला तत्कालिन राजा वीरेन्द्रको सवारी गाउँमा भएको थियो । वीरेन्द्रलाई उनले आफ्नै हातले बुनेको ढाकाको टोपी उपहार दिने मौका पाए ।
चिटिक्क परेको ढाकाको टोपी उपहार पाएपछि वीरेन्द्रले उनलाई स्याबासीसमेत दिएका थिए । त्यही स्याबासी थापेपछि हातको सीप अझ व्यापक गर्ने ऊर्जा मिलेको थियो । टोपी बुन्दाबुन्दै लगाउने अन्य कपडासमेत बुन्न जान्न थालेपछि भने उनलाई जागिरप्रति वितृष्णा जाग्न थाल्यो । उनीे एउटा निर्णयमा पुगे- जागिरबाट राजीनामा । ुअर्काको दवाबमा रहेर जागिर खानु बेकार ठानेंु एउटा भेटमा पराजुलीले भने ुआफ्नै गाउषमा श्रम र पसिना खर्चन सुविधासम्पन्न जागिर छाडे ।ु
धनकुटाको जीतपुरमा जन्मिएर म्याङ्लुङ-१ मा बस्दै आएका उनलाई जागिर छाडेकोमा कुनै पश्चाताप लागेको छैन । लागोस् पनि किन जागिरलाई पर्खिएर बसेका भए यतिबेला उनको वार्षिक कमाइ त्यस्तै ३÷४ लाख हुन्थ्यो होला । तर जागिर छाडेर म्याङ्लुङमा पराजुली ढाका तथा कपडा उद्योग सुरु गरेपछि उनको जीवनमा कायापलट भएको छ । वार्षिक १२÷१५ लाख िभœयाउँछन् । तीन सय ढाकाको कपडा बुन्ने तान राखेका छन् । त्यत्ति नै व्यक्तिलाई रोजगारी दिएका छन् । ६० वटा तान उद्योगमै राखेका छन् भने अन्य तान गाऊँ-गाऊँमा विस्तार गरेका छन् । २० रुपैयाँबाट सुरु गरेको उद्योगमा अहिले उनले २० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।
कामप्रतिको समर्पण उद्योगप्रतिको लगावले उनी मुलुककै उत्कृष्ट ढाका कपडा उद्योगीको रुपमा दरिएका छन् । उनकै सकि्रयताले जिल्लालाई ढाका कपडा उत्पादनको जिल्लाको रुपमा चिनिएको घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत विश्वभद्र खनालले बताए ।
गत २०६५ सालमा राजधानीमा भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा कास्की र पाल्पाका उद्योगीहरुलाई पछि पार्दै प्रथमसमेत भए । त्यसलगत्तै उनले उद्योग प्रबद्र्धनका लागि तालिमका लागि बैंकक जाने मौकासमेत पाए । केही दिनअघि म्याङलुङ-१ स्थित उद्योगमै भेटिएका पराजुली भन्छन् ुमलाई अमेरिकामै बस्नेगरी त्यता जान अफर आएको थियो । तर आफ्नो सीप र पसिना स्वदेशकै माटोमा खर्चन अमेरिका जाने प्रस्तावलाई इन्कार गरें ।ु
बजारमा पाल्पाली ढाकाको टोपी तथा अन्य कपडाले प्रसिद्धि पाएको थियो । तर आजभोलि पाल्पाली होइन तेह्रथुमको ढाका कपडाले देश-विदेशमा बजार जमाएको छ । पराजुलीले उद्योग सुरु गरेपछि जिल्लामा अन्य उज्ज्वलता श्रमजीवि नवीन दिवस फाक्तालुङ कमला ढाका तथा कपडा उद्योगलगायत दर्जनौं उद्योग साचालनमा छन् ।
जिल्लामा पराजुली र उज्ज्वलताले भने राम्रै बजार जमाएका छन् । अन्य उद्योग पनि राम्रै ढाका कपडा उत्पादन गर्दै आएको स्थानीय बताउँछन् । हाल तेह्रथुममा उत्पादन गरेका ढाका कपडाहरु ताप्लेजुङ धनकुटा सुनसरी मोरङ काठमाडौंलगायत युके ब्रुनाई अमेरिकालगायतका देशमा जाने गरेको उद्योगीहरुले जनाएका छन् ।
यहाँ टोपी साडी सर्ट पच्छौरा मफलर चोलो रुमाललगायत उत्पादन हुँदैआएको छ । तेह्रथुमको साडी र पच्छौरा विशेष लोकपि्रय भएको तेह्रथुम काङ्ग्रेसका सभापति गोविन्द ढुङ्गानाले बताए । २५ रुपैयाँदेखि १२ हजारसम्मको कपडा उत्पादन हुने पराजुली उद्योगका सहायक सन्तबहादुर भण्डारीले जानकारी दिए ।
घरेलु तथा साना उद्योग विकास समितिमा हालसम्म १७ वटा उद्योग दर्ता भएको तथ्याङ्क छ । ३५÷४० भन्दा बढी तान राखेर साचालनमा आएका ६ वटा रहेको कार्यालयका बरिष्ठ अधिकृत खनालले जनाएका छन् । तर गाउँ-गाउँमा १÷२ वटा तान राख्ने एक हजारभन्दा बढी छन् ती भने दर्ताको प्रकि्रयामा नभएको खनालले जनाएका छन् । उनका अनुसार ढाका कपडा उद्योगलाई व्यापक बनाउन कार्यालयले विभिन्न तालिम तथा सहजीकरण कार्यक्रमको समेत व्यवस्था गर्दैआएको छ । तेह्रथुमका ढाका कपडा उद्योगीहरु राजधानीमा हुने औद्योगिक प्रदर्शनीमा सधै उत्कृष्ट हँुदै आएका छन् । ०६५ मा पराजुली ०६६ मा उज्ज्वलता ढाका तथा कपडा उद्योगका विकास लिम्बू र ०६७ मा श्रमजीवी ढाका तथा उद्योगका साचालक रामिसंह आले मगर प्रथम भएका छन् । उनीहरुले बैंकक नयाँदिल्ली र बंगलादेशमा हस्तकलाका उद्योग अध्ययन भ्रमणमा समेत जाने अवसर पाएका थिए ।
तेह्रथुममा निर्मित ढाका कपडाको प्रसिद्धि बढेपछि तेह्रथुमको नाम लिएर अन्य ठाउँमा उत्पादित कपडा बिक्री बढेको उद्योगीहरुले गुनासो गरेका छन् । सो समस्या सुल्झाउन तेह्रथुमको ट्रेडमार्क लिइसकेकाले चाँडै जिल्लाभित्रका उद्योगीलाई लोगो वितरण गरिने खनालले जानकारी दिए । घरेलु कार्यालयले जिल्लाका ३२ वटै गाविसका घर-घरमा ढाका उद्यॊग विस्तार गर्ने लक्ष्य लिएको छ । यता जिल्लामा उत्पादित ढाका कपडाको माग अत्याधिक बढे पनि उद्योग साचालनका लागि चाहिने आवश्यक कच्चापदार्थ धागो भने सहजरुपमा पाउन नसकिरहेको उद्योगीहरुले बताएका छन् । ढाका कपडा धागोबाट निर्माण गरिन्छ । उद्योगीहरुले भारतबाट आयात गरिएको सो धागो विराटनगरबाट खरिद गर्दैआएका छन् । उद्योगलाई चाहिने आवश्यक धागो बजारमा पाउन नसकेको उनीहरुको गुनासो छ ।
सरकारले कोसेली घर निर्माण गर्ने नीति ल्याएको छ । सो कोसेली घर तेह्रथममा पनि निर्माण गर्ने निर्देशिकासमेत बनेको हो तर उद्योगमन्त्रीको निक्र्याैल नहुँदा निर्देशिका जारी हुन सकेको छैन । बन्न लागेको कोसेली घरमा उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थ सहजरुपमा उपलब्ध गराउने व्यवस्था राज्यले गरे तेह्रथुममा ढाका उद्योग अझ फष्टाउने थिए । गाउँमै रोजगारीको अवसर र गतिलो आर्थिक उपार्जनको माध्यम ढाका उद्योग बनेकाले उद्योग साचालनका लागि राज्यले भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
debendrak@gmail.com