- देबेन्द्र कार्की
‘अरु बेला त त्यस्तै हो । बन्द–हड्ताल भयो भने चाहिँ राम्रै कमाइ हुन्छ ।’ बुधबार धरानको भानुचौकमा भेटिएका पासवानले भने । अरु बेला रिक्सामा सुतेर दिन बिताउनु परे पनि बन्दका बेला भने उनीहरु निकै बेफुर्सदिला पनि हुन्छन् । बन्दमा अलपत्र परेका यात्रु ओसार्न उनीहरुलाई भ्याई नभ्याई हुन्छ । बन्दको समयमा एक दिनमा २५ सय ३ हजारसम्म कमाइ हुने पासवानले बताए । अन्य बेला डेढ–दुई सयसम्म पनि हुँदैन । कुनै बेला त भानुचौकमात्र रुँगाइ पर्ने उनको भनाइ छ ।
‘हिजो इटहरी गएँ, पाँच सय कमाइ भो । आज ग्राहक भेटिएका छैनन्’, ग्राहकको खोजीमा आँखा डुलाउँदै बसेका पासवानले भने, ‘यात्रु भेट्नु पनि भाग्यको कुरा रहेछ ।’ उनी साहूलाई रिक्सा भाडाबापत् दैनिक ५० रुपैयाँ बुझाउँछन् । खाजा खाँदा कहिलेकाहीँ घरमा लैजान सुको पनि हुँदैन तर बन्दको कमाइले केही दिन भरथेग हुने उनी बताउँछन् ।
१५ वर्ष भयो उनले धरानमा रिक्साको पाइडल घुमाएको । कामको खोजीमा धरान छिरेका पासवान रिक्सासँग आफ्नो बालबच्चाको भविष्य खोजिरहेका छन् । १५ वर्षमा उनले लाखौं माइलको यात्रा गरे होलान्, हजारौं यात्रुलाई गन्तव्यमा पु¥याए तर उनको जीवनमा खासै परिवर्तन आएको छैन । उही चेहरा, उही पहिरन, पुरानो हुँदै गएको भाडाको रिक्सा, बुढ्यौली बन्दै गएको जिन्दगीमात्र उनको साथमा छ । बन्दका बेला पासवान दमक, विराटनगर, इटहरी निकैपटक गएका छन् । लामो बाटो आम्दानी पनि राम्रै हुने उनी बताउँछन् ।
‘बन्द भनेको त नराम्रो कुरा हो तर केही कमाइ हुन्छ भने त राम्रै मान्नु प¥यो’, धनकुटाबाट धरान झरेर रिक्सा कुदाउँदै गरेका ३१ वर्षीय मिलन लिम्बू भन्छन्, ‘बन्द भयो भने हाम्रो भाग्य अलिक बन्छ ।’ चार वर्षदेखि रिक्सा चलाउँदै आएका लिम्बूले बन्दका बेला दिनमा २५ सयसम्म कमाएको बताए । अरु बेला सीमित क्षेत्रमा रिक्सा चलाउन पाइने भए पनि बन्दका बेला उनीहरुले धरानमा जुनसुकै स्थानमा रिक्सा चलाउन पाउँछन् । उनीहरु त बन्दकर्तासँग ट्याम्पो पनि बन्द गरिदिए हुन्थ्यो भन्छन् । ट्याम्पो पनि बन्द हुँदा झन् मालामाल हुन्छ । अर्काे रिक्सा चालक जीते विश्वकर्माले भने, ‘इटहरी, विराटनगरसम्मका यात्री बोक्न पाइन्छ । १५ सयदेखि ३ हजारसम्म कमाउन सकिन्छ ।’
रिक्सा चालक बन्दमा रमाउँछन् । बन्दले उनीहरुलाई निकै आम्दानी गराउँछ । देशभरका साना–ठूला शहरमा यात्रुलाई गन्तव्यसम्म पु¥याउने रिक्सा चालकहरुको सपना हो । पेटभरि खाना र परिवारका लागि केही बँचाउन उनीहरुका लागि बन्द–हड्ताल नै राम्रो अवसर बनेको छ ।
प्रदूषण पनि नहुने, छोटो यात्राका लागि मान्छेको रोजाइ रिक्सा नै हुन्छ तर निरन्तर बन्दका बेला लामो दुरीका लागि पनि रिक्सा रोज्नुपर्ने बाध्यता छ । धरानमा हाल ४ सय ४४ वटा रिक्सा सञ्चालनमा रहेको नेपाल स्वतन्त्र रिक्सा चालक युनियनका धरान अध्यक्ष पदम बर्देवाले बताए । बन्द–हड्तालमा रिक्सा चालकलाई फाइदा हुने भए पनि आजभोलिको बन्दमा सडकमा इटहरी, विराटनगर जानेलाई सोध्दै मोटरसाइकलमा लानेहरुका कारण रिक्सा चालक मारमा परेको बर्देवा बताउँछन् ।