एमालेभित्र एउटा समस्या सिर्जना भयो, जुन राष्ट्रिय समस्यासँग जोडिएको छ । संघीयताका विषयमा प्रस्ट वकालत गर्ने पार्टी एमाले भए पनि त्यो नेतृत्व तहमा कार्यान्वयन हुन सकेन । पार्टीको निर्णय र नीति राम्रा पनि छन् । तर, कार्यान्वयन पक्षमा समस्या आएको छ । राज्य पुनर्संरचना आयोगले १४ प्रदेशको प्रस्ताव ल्याउनुअघि एमालेले १५ प्रदेशको प्रस्ताव अघि सारिसकेको थियो । तर, पछि एमालेका माथिल्लो तहका नेता यसलाई उल्ट्याउनतिर लागे । आयोग पनि बन्यो र त्यो आयोगले पहिचानका आधारमा १० प्रदेशको खाका ल्यायो । तर, नेतृत्वबाट त्यसको पनि विरोध भयो । ककसलगायत आदिवासी-जनजाति, दलित, मधेसी समुदायले दुईतिहाइका आधारमा निर्णय गर्दा १० वा १४ प्रदेश पारित हुने निश्चित थियो । तर, एमालेका ठूला नेताले हुन दिएनन् । यसकारण पनि संविधानसभा विघटनमा एमाले दोषी भएको मैले पाएको छु । कांग्रेस र माओवादीले पनि एमालेकै पछि लागेर संविधानसभा विघटन गरे । विघटनको सम्पूर्ण जिम्मेवार ठूला दलका ठूला नेता नै हुन् । यहाँ एउटा ठूलो अपराध भयो । यस्तो आपराधिक क्रियाकलापमा एमाले संलग्न हुनु दुर्भाग्यको कुरा हो ।
अग्रगमनबाट प्रतिगमनतिर
संविधानसभा विघटनपछि हामीले नौबुँदे माग पार्टीमा प्रस्तुत गर्यौर्ं । संविधानसभाको पुनस्र्थापना वा निर्वाचनमार्फत संविधानसभाको गठन गर्नेलगायतको माग पार्टीलाई बुझाएका थियौँ । पहिचानसहितको संघीयतालगायत पार्टीका निर्णयअनुसार जान सुझाबसहित प्रस्तुत गर्यौँ । तर, पार्टीले जिल्ला अध्यक्षहरूको भेला गरेर सात प्रदेशको खाका तयार गर्यो । यसमा हामीलाई चित्त बुझेन । एमाले अग्रगमनबाट प्रतिगमनको निर्णयतिर लाग्यो । यसको विरोध गर्दा स्पष्टीकरण सोध्ने काम भयो । अध्यक्षले बोलाउनुभयो, छलफल भयो । हामी पार्टीभित्र अन्तसर्ंघर्षको कार्यमा थियौँ । तर, अध्यक्षद्वारा भोलिपल्टै बैठक बोलाएर हामीहरूलाई पदमुक्त -जिम्मेवारीबाट ) बनाइयो । हामीमाथि एक किसिमको कारबाही भयो । मलाई एमाले सुधि्रन्छ कि भन्ने विश्वास लागेको थियो । तर, त्यो निर्णयले निराशा जगायो । यद्यपि एमाले अझै सुधि्रन्छ भन्ने आशा हामीबाट हराएको छैन । किनकि नेपालमा स्पष्ट विचार र नीति भएको पार्टी एमालेभन्दा अरू छैन ।
नयाँ शक्ति जन्मँदै
एमालेबाट एक प्रतिशत मात्र आशा बाँकी छ । अहिले नेपाली राजनीतिमा एक किसिमको शून्यता उत्पन्न भएको छ । यो शून्यतामा अरू राजनीतिक दलका साथीहरू पनि नयाँ सोच बनाएर जानुपर्छ भन्ने कुरा उठिरहेको छ । यसको माहोल बनिरहेको छ । यदि एमाले सुधि्रएन भने वा नीति परिवर्तन गरेन भने नयाँ शक्ति निर्माणका लागि हामी बाध्य हुनेछौँ । यो नयाँ शक्ति भनेको नयाँ मोर्चा बनाएर जाने हो । यो मोर्चा 'वैकल्पिक' राजनीतिक पार्टी हुनेछ । अहिलेका ठूला दलमध्ये नेपाली कांग्रेस संविधानसभामार्प{mत संविधान बनाउने पक्षमा छैन । कांग्रेस प्रतिगामी सोचका साथ अघि बढेको स्थिति छ । २७ दलबीच बनाइएको मोर्चा पनि दक्षिणपन्थी मोर्चा भएको छ । त्यहाँ संघीयता नरुचाउने पार्टी छन् ।
एमाले, कांग्रेस, माओवादीले रातारात संविधानसभा विघटन गरेपछि उनीहरूमाथि नेपाली जनताको विश्वास गुमेको अवस्था छ । यो अविश्वासलाई लामो समयसम्म रहन दिने हो भने लोकतन्त्रलाई नै आघात पुग्छ । यो अविश्वासको खाडल पुर्न एउटा राजनीतिक नयाँ शक्तिको आवश्यकता देखिएको छ । आम बुद्धिजीवी र सर्वसाधारणको धारणाअनुसार नयाँ शक्तिको स्थापना आवश्यक भएको हो । यी समस्या समाधान गर्न एमालेले नै सक्छ भन्ने चाहिँ हामीलाई लागिरहेको हो । त्यसकारण पनि पार्टीभित्र अन्तर्संघर्ष चलाइरहेका छौँ । एमालेका केही नेता प्रतिगामी सोचका साथ अघि बढेको अवस्था छ । एमालेभित्र प्रदीप नेपाल, पुष्प कँडेल, भीम रावल, रघुजी पन्तजस्ता नेता संघीयताविरुद्ध उत्रिएका छन् । एमाले सुधि्रएन भने निश्चित रूपमा अर्काे शक्तिको उदय हुनेछ ।
किन हुँदैन लिम्बुवान् ?
बहुपहिचान भनेको एउटा कुनै वस्तुको बहुनाम हुनु भन्ने मलाई लाग्दैन । व्यक्तिको पनि एउटै नामले पहिचान बनाउँछ । कुनै क्षेत्रविशेषको जस्तो लिम्बुवान एउटा 'टेरिटोरी' हो । यसको ऐेतिहासिक, सांस्कृतिक सबै नाम लिम्बुवान नै हो । भारतमा बंगालीको बंगाल राज्य छ । पन्जाबी भएका ठाउँमा पन्जाब राज्य छ । मराठी बस्ने महाराष्ट्र भएको छ भने नेपालमा किन हुन सक्दैन । हामीले अन्यथा कुनै कुरा गरेका छैनौँ । नभएका कोसी-मेची नदीका नामबाट किन गर्ने ? दुनियाँमा यस्ता नामका राज्य छैनन् । एकल पहिचानलाई यहाँ एकल जातीय पहिचानमा लगेर व्याख्या गरियो । हुँदाहँुदा जातीय राज्यको कुरा गरियो । यो गलत व्याख्या भयो । गलत व्याख्या पछि ग्ाएर सत्य भइदियो भने यसले जातीय दंगा ल्याउँछ । एकल पहिचान सामाजिक जातीय सबै आधारमा हुन सक्छ । यसलाई जातीय आधारमा मात्र हेर्नु हुँदैन । बहुपहिचानले समस्यालाई समाधान गर्दैन । जस्तो- किरात-लिम्बुवानभ्ान्दा कसको पहिचानलाई मान्ने ? दुवै मिसाउँदा वा धेरै मिसाउँदा सबैको पहिचान बन्न सक्दैन । एमालेले हिजोको विकास क्षेत्रलाई राज्य बनाउन खोजेको छ । यसले कसैको पहिचान दिँदैन । बहुपहिचानमा अनेक व्याख्या छन् । एमालेले ल्याएको सात प्रदेश जुन जाति र समुदायले राज्यमा वर्चस्व पाएका छन्, तिनैको उत्थान हुने किसिमले ल्याएको छ । एउटा जातिको यथास्थित कायम गराउन गरिएको छ । कुनै जनजाति मधेसी, क्षेत्री बाहुन, कसैको हितमा छैन । यसको सबैले विरोध गर्छन् ।
राजनीति जातिका लागि कि वर्गका लागि ?
जात भने पनि वर्ग भने पनि सबै जनता नै हुन् । हामी कम्युनिस्ट सिद्धान्तलाई जीवनपर्यन्त मानी आएका मान्छे हौँ र मानिरहन्छौँ । वर्गीय संघर्षलाई आधारभूत सिद्धान्त मानेर राजनीति गरिरहेका छौँ । उत्पीडित वर्ग, जाति, समुदायको मुक्ति अहिलेको मर्म हो । यो किसान र जमिनदारको अन्तरसंघर्षमा मात्र सीमित छैन । उत्पीडित जाति, दलित, क्षेत्री, बाहुन जनजातिको लागि अन्तरसंघर्ष हो । नेपाली समाजको अन्तरविरोध संघीयताका लागि हो । यसलाई हामी वर्गसंघर्षभन्दा बाहिरबाट हेर्न सक्दैनौँ । जातीय राजनीति हुँदै होइन । हामी उत्पीडनका विरुद्ध संघर्ष गरिरहेका छौँ । एउटा पछाडि परेको समुदायको कुरा उठान गर्दा जातीय कुराको उठान होला जस्तो मलाई लाग्दैन । यो सोच्नु पनि गलत हो । कुनै समुदायको कुरा उठाउनु जातीय हुँदै होइन । हाम्रो राजनीति वर्ग्ाउत्थानका लागि नै हो । ठूला दल मानिएको नेताहरूको आप\mनो वर्चस्व गुम्ने त्रासले यस्तो कुप्रचार गरिएको मात्र हो । एमालेले पनि वर्गको राजनीति गरेको हो । तर, नीति र विचार भए पनि त्यसलाई कार्यान्वयन गर्न सकेन । अहिले त एमाले एउटा जातिको पार्टी भएको छ । एमाले बाहुनहरूको पार्टी भएको छ ।
उत्पीडनमा परेको जाति
नेपालमा ब्राह्मण जुनसुकै दलमा हाबी छन् । मुख्य खेलाडी नै उनीहरू छन् । ब्राह्मण संरचनाको सबै दलमा वर्चस्व छ । निजामती सरकारी कार्यालयमा पनि उनीहरू नै हाबी छन् । अहिलेको राज्यसत्ता १३ प्रतिशतले नियन्त्रणमा लिएका छन् । जनजाति, दलित, मधेसी सबैले आप\mनो जनसंख्याको आधारमा सहभागिता पाउनुपर्ने हो । तर, पाउन सकेका छैनन् । जातीय अस्तित्व नै संकटमा परेको छ । सीमित एउटा जातिको कब्जामा राज्यसत्ता भएका कारण उनीहरू उत्पीडनमा परेका छन् ।
ककस र न्युक्लियस
ककस भनेको संविधानसभामा भएका जनजातिहरूको विषयगत समूह हो । हामीले बनाएको समूह भने पार्टीमा नौबँुदे मागपत्र बुझाएपछि बनाएको समूह न्युक्लियस हो । यो अन्तरपार्टी संघर्ष गर्न बनाइएको समूह हो ।
(पूर्वशान्तिमन्त्री एवं एमाले नेता रकम चेम्जोङसँग देवेन्द्र कार्कीले गरेको कुराकानीमा आधारित)