-देवेन्द्र कार्की
हामी सानो छदा गाउँघरमा दशैं भने पछि रौनकै अर्कै हुन्थ्यो । झन केटाकेटीहरुको लागि दशै भन्दा रमाईलो र सुशीको चाड अरु कुनै हुदैनथ्यो । गाउँ घरमा दशैको जोहो छ महिनाअघिदेखि गरिन्थ्यो । दशैं आउनु अघि पिङ हाल्न घरैपिच्छे बाँस पिङका लागि लठारो बनाउने खर भेला गर्न गाउँले मनहरु आतुर हुन्थ्ये । वर्ष दिनदेखि दशैंका लागि पालेका घोर्ले खसीहरु दाना पानी दिन होडबाजी नै चलेको हुन्थ्यो । गाउँमा खसी सबैको भन्दा ठूलो र बलियो बनाउन सबै केटाकेटीहरु जुटेका हुन्थ्ये ।
नयाँ लुगा सिलाउन पारिलो घाममा दर्जी बन्धुहरु व्यस्त हुन्थ्ये । खिटिटी खिटीटी… कलको आवाजले गाउँमा अर्कै रौनक थपेको हुन्थ्यो । हामी मन चाहि नयाँ लुगमा थुपारेर भेडा गोठालो गर्न नागीमा जान्थ्यौं । दशैंका बेला हतियार उद्याउन विश्वकर्मा बन्धुहरु घर घरमा साँध लगाउन तल्लिन हुन्थे । दशैंको घोर्ले खसी नछिल्ला भनेर कट्टी टल्काउन विश्वकर्मा बन्धुहरु खुब जोसिएर लाग्थे । हतियार टल्काउने र नयाँ नाना सिलाउने बन्धुहरुको पनि खसीको गर्धन र पुच्छे्रले घरको अगेना माथिको भार थामी नसक्नुको हुन्थ्यो । विष्टमानबाट उपहार पाएका पुच्छे्र र गर्धनले दशैं हर्षोल्लासले मनाउने गरिन्थ्यो । त्यहाँ रितिरिवाज नै त्यस्तै थियो । गाउँमा त्यतिबेला एक आपसमा सदभाव र संस्कारको ठूलो महिमा थियो ।
सोह्र श्राद्धका पन्ध्र दिनपछि अर्थात घटस्थापनादेखि प्रेम र उपासनाको पर्वको रुपमा दशै भित्रिएको हुन्थ्यो । सोह्र श्राद्ध सुरु हुनु अगावै गाउँलेहरु दशैका लागि सर्दम ओसार्न ढाकार तोक्मा मिलाएर दुई दिनको बाटो उदयपुरको बेलटार बजार झथ्ये दशैका लागि नुन तेल चामल चिउरा लता कपडा मिलाएर ५÷६ दिन लगाएर सामान आयत गरिन्थ्यो ।
दशैको सुरु दिन अर्थात सप्तमीका दिन फूलपाती पूजा गर्न भोजपुर यूको आरुभोटेमाथि वासीराङ देवीथानमा भक्तजनहरुको ओइरो लाग्दथ्यो । सिङगो गाउँघरमा दैलामा साँचो झुण्डाएर वडादशैं भित्र्याएको रमिता हेर्न उक्लिन्थे । रागा बोका काट्न प्रतिस्पर्धा हुन्थ्यो । सयौ रागाँ बोकाहरुको विस्कुन हुन्थ्यो । हामी रागा बोका काटेको हेर्न हुल बाधेर निस्कन्थ्यौ । त्यहाँ जातभातको भेदभाव हुँदैनथ्यो । क - कसले पूजा गरे पत्तो हुदैन्थ्यो । परेवा कुखुरा हाँस बोका र रागाको बलि दिएर वासीराङ देवीलाई खुशी पार्ने चलन थियो र अझै पनि कायमै छ । सामाताङ ओइराङ वासिङ थिन्दीन्ङ्गाखा यु धिन्ताङलगायतका ठाउँबाट पेरुङ्गा भरि कुखुरा परेवा च्यापेर पहाडे जखमाले बोकाको तात लगाएर हिड्नेहरुको दृष्य निकै रोमााचक हुन्थ्यो । ठेल्दै धकेल्दै तान्दै र बोक्दै मुलबाटोमा खसी बोकासँगको तातले हाम्रा केटाकेटी मन फुरुङ्ग हुन्थ्यो । हामी पनि पेरुङ्गाभरि परेवा बोकेर भोकै उकालो लाग्थ्यौ । बोका राँगा नहिडेर हैरान बनाउथ्यो । देवीथानमा दर्जनभन्दा बढी पन्चाउली हुन्थ्यो । हजारभन्दा बढी बोका पाठाहरुको बलि दिने गरिन्थ्यो ।
फुलपाती पछि अष्टमीको दिन गाउँले केटा केटीहरुका लागि निकै महत्वको दिन थियो । त्यस दिन गैराघरका डम्वरबहादुर दाई मास्टरका साईला दाई मतानेका दुर्गे दाई लगायतहरु ल्ामो कट्टी लिएर घर घरमा जखामाले खसी छिनाउन प्रस्पिधा गथ्ये । कस्ले कति ठूलो कति धेरै खसी छिनायो हिसाव किताव केलाउथ्ये । कसको घरमा कति धार्नीको खसी काटियो कसको घरमा काटिएन त्यो पनि गाउँमा चर्चाको विषय नै हुने गथ्यो । लोकको अगाडी इज्जत राख्न विहान बेलुका छाक टार्न समस्या हुनेहरु पनि ठूलो खसी काट्ने प्रतिस्पर्धामा सामेल हुने गथ्ये । शक्तिको प्रतीकका रुपमा मानिने चाड भएकाले दसैंका बेला देवीलाई बलि चढाएर प्रसन्न तुत्याउने मान्यता थियो र अझै पनि कायमै रहेको छ । जो बलि चढाउँदैनथे ती पनि प्रतिकात्मक रुपमा देवीलाई खिन्न मनले कुभिण्डो काटेर देवीलाई खुसी तुल्याउने गथ्यॆ ।
त्यसबेलाको दशैं उत्सव छनकै अर्कै हुन्थ्यो । क्षेत्री बाहुन राई भुजेल विश्वकर्मा दर्जी सार्कीलगायत हामी एक साथ हुन्थ्यौं । सबैमा रमझम र उत्लास भरिएको हुन्थ्यो । एकता सद्भाव र एक आपसमा घनिष्ट थियो । गाउँमा गरिवी विपन्नता भोक अभावका कथा व्याप्त रहे पनि दशैं पर्व र उत्सवले एकताको डोरीमा सबै बाँधिएका हुन्थे । गाउँमा औधी मेलमिलाप थियो । जात धर्म र वर्गभन्दा माथि उठेर उत्सव पर्वहरु मनाइन्थ्यो । गाउँमा हुने साह्रो गाह्रो विवाह ब्रतबन्ध पूजापाठ मरिमराउमा िसंगो गाउँ जुट्ने गर्दथ्यो । गाउँघरका समस्या साझा बन्थे तर आजभोलि सद्भाव मेलमिलाप पर्वजस्ता कार्य दुर्लभ वन्न थालेका छन् । गाउँघरमा को आयो को गयो वास्ता हुन छोडेको छ । आजभोलि गाउँघरमा समावेशी सदभाव हराउँदै गएको अनुभूति हुन थालेको छ ।
मतानेकी माइली बढेआमाको ुआइदेउ खाइदेऊ भन्ने माया सद्भाव कर्णे सार्कीको आफन्तभाव काले दमाइको मित्रता ठट्यौली र काराकी राइनी काकीको माया ममताले हामीमा सधै नजिक बनाइरहन्थ्यो । उनीहरुको आपुनोपनले सधै गाउँमा मन डुलिरहन्थ्यो । उनीहरुको माया सत्भावले म टाडा रहदा पनि दशैको बेला मन तानिन्थ्यो । त्यही भएर निकै बटा दशैहरु मान्न पहाड उक्लीएको छु । गाउँका ती अतितले आजाभोली पनि मलाई नतानेको त होईन तर आफ्नै व्यस्थताले उनीहरुको सत्भावआदर र आर्शिवात थाप्न जान पाएको छैन् ।
यीत सबै बितेको समयको कुरा हुन् । यी अब एकादेशका कथा हुन लागेको छ । अब वाल्यकालका गाउँले अनुभूति ती गाउँमा नभेटिने समय बनेको छ । अब पहिलेको संस्कृति सद्भाव मातृत्व हराई सकेका छन् । हिजोको सांस्कृतिक दसैं अहिले भने व्यावसायिक बन्दै गएको छ । उहिलेको दसैं मानवीय भावनाहरुले ओतप्रोत हुने गथ्यो तर अहिलको दसैं इलेक्ट्रोनिक भएको छ । आस्था र भावनालाई उछिनेर शहरी सस्कृतीमा परिर्वतन हुदै गएको छ । यद्यपी दशैं तिहार संस्कृतिलाई हिन्दू धर्ममा मात्र जोड्न छोडेर हरेकका चाडपर्व र उत्सवमा सद्भावपूर्ण बनाउनुपर्छ । अबको दशैंलाई समावेशी र लोकतान्त्रिक बनाए सद्भाव साथ मनाउनु पर्छ ।
हामी विभिन्न समुदाय सम्प्रदाय वा उग्र राजनीतिकमा बाडिएर पहिलेको मौलिकता उत्लास मेलमिलापलाई हराउन दिनु हुँदैन । बितेका समयमा गाउँघरमा हुने रमाइला क्षण अनुभूति कायमै राख्नुपर्दछ । अनि मात्र दशैंतिहारजस्ता उत्सवको सार्थकता हुन्छ ।