Social Icons

पूर्वमा चासोक तङनामको रौनक


  • देबेन्द्र कार्की
धरान, १४ पुस / डाँडापाखाहरुमा पैंयु पुूल्न थालेका छन् । जाडोको कारण खोला–नदीका माछा र आकासमा उड्ने चराचुरुङगी न्यानो खोज्दै दक्षिणतिर मोडिएका छन् । प्रकृतिको यो निरन्तरताले किरातहरुको उधौली याम सुरु भएको छनक मिल्छ । प्रकृतिका पुजक किरात जातिहरु पैँयु फुल्न थालेपछि र जाडो याम सुरु भएसँगै भाषा सँस्कृति संरक्षणको खातिर उँभौली मनाउने गर्छन् । कुनै जातिको अस्तित्व भनेको उसको भाषा सँस्कृति हो । जातिको अस्तित्व त्यसबेला रहन्छ जतिबेला उसको भाषा सँस्कृति र सम्पदा चीर र कालजयी हुन्छ । यही कुरा बुझेर जाति भाषा सँस्कृति र सम्पदाको संरक्षणमा प्रकृतिपुजक आदिवासी किरात जातिहरु पछिल्लो समयमा अग्रपङतिमा देखिएका छन् ।

परम्परादेखि नै घरघरमा लिम्बुहरुले चासोक तङनाम मनाउँदै आए पनि पछिल्लो दुई दशकयता यो पर्वलाई आदिवासी जनजाति लिम्बूले सामुहिक बनाउन थालेका छन् । चार किरातीले आफ्नै  शैलीमा सामूहिकरुपमा सार्वजनिक माङहिम र स्थलमा भेला भएर सातासम्म भव्यताका साथ मनाउन थालेका छन् । उधौली पर्वलाई लिम्बूले चासोक तङनाम(न्वागी पूजा), राईले उधौली साकेला सुनुवारले फोलफयाँदर र याक्खाले चासुवाको नाममा परम्परागतरुपमा मनाउदै आफ्नो संस्कृति लोप हुनबाट जोगाउँदै आएका छन् । पछिल्लो समय भूजेल समुदायले पनि आफ्नो भाषा, र्सस्कृति जोगाउन भूजेली पर्व ‘पूजारामे’ मनाउन थालेका छन् । आफनो भाषा र सस्कृति लोभ भएको भन्दै भूजेलहरुले आफ्नै पुरोहीत राखेर कर्मकाण्डालगायतको कार्यक्रम पनि शुरु गरिएको भूजेल सस्कृति संरक्षण मञ्चका सचिव डिकबहादुर भुजेलले बताए ।
संस्कृति संरक्षणको अभियान किरात याक्थुङ चुम्लुङ धरान नगरसमितिले केही वर्ष अघिदेखि थालेको छ । लिम्बू संस्कृतिमा लोप हुन लागेका विविध कला सँस्कृति गीत सामूहिकरुपमा प्रस्तुत गर्ने अवसर मिलाउँदै आएको छ । यस वर्ष पनि सनिवारदेखि देखि धरान–१५ स्थित चुम्लुङ हिमपरिसरमा सप्ताहव्यापी चासोक तङनाम न्वाँगी पूजा उत्सव साँस्कृतिक पर्यटन उत्सव संचालन गरेको छ । उत्सवको उद्घाटन किरात याक्थुङ चुम्लुङ्गकी केन्द्रिय उपाध्यक्ष दुर्गामाया लिम्बुले गरेकीछन् ।

सँस्कृति संरक्षणको अलावा चासोक तङनाम भेटघाट शुभकामना साटासाट कूल देवीदेवताको पूजा अर्चना र सामूहिकरुपमा मनोराजन गर्ने एउटा माध्यम पनि बनेको छ । सामूहिक न्वाँगी पूजाले लिम्बू जातिभित्र सामाजिक सद्भाव र सम्बन्ध बढाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको किरात याक्थुङ चुम्लुङ धरान नगर समितिका निर्वर्तमान अध्यक्ष प्रदीप मेयाङवोले बताए ।
‘परम्परागत चाडपर्वलाई सामूहिकरुपमा मनाउने काइदा नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि हो ।’–हालका नगर अध्यक्ष सुवास हुम्पा चुङमाङले भने–‘उत्सवमा प्रस्तुत गरिएको केलाङ यालाङ हाक्पारे साम्लो मुन्धुमीमा वृद्धवृद्धसँगै युवायुवतीहरुको उत्साहपूर्ण सहभागिता हुन थालेको छ । धरान–१९ की १५ वर्षीया मिलन लिम्बु गुन्यू–चोली र गहनाले सजिसजाऊ भएर धरान–१५ स्थित चुम्लुङ हिममा  केलाङ–च्याम्ब्रुङ नाच्दै गरेको भेटिइन् । गलामा कण्ठ कानमा लेसो निधारमा शिरबन्दीले ठाँटिएकी लिम्बुले थरगत र थुमगतका सामूहिक साँस्कृतिक समूहहरुको बीचमा पसेर उत्साहसाथ केलाङ च्याम्ब्रुङ नाचिन् ।

आफ्नो सँस्कृति जोगाउन धान नाच्ने गरेको उनीहरुको भनाई छ । उनीसँग धरान–१८ की १७ वर्षीया पुष्पाञ्जली लिम्बूलगायत एक हुल युवतीहरु आफ्नो संस्कृति संरक्षणको खातिर पुसको पारिलो घाममा पसिना पुछ्दै केलाङ नाच्दै थिए ।
उधौली पर्वका अवसरमा नाचिने धान नाचमा नाता नपर्ने युवायुवतीहरु एक अर्काको हात समाएर नाच्ने चलन छ । धान नाच्ने क्रममा मनपरापर भए विवाह गर्ने प्रचलन पनि रहेको छ । धान नाच्ने र विवाह गर्ने चलन गाउँघरमा कायमै रहे पनि सहर–बजारमा भने हराएको धरान–८ का बलराम लिम्बूले बताए ।
खासगरी अरुणपूर्वका सुनसरी मोरङ झापा इलाम पाँचथर ताप्लेजुङ तेह्रथुम, सङखुवासभा र धनकुटामा रहेका लिम्बूहरुले धरानमा जस्तै एउटा निश्चित ठाउँमा सामूहिकरुपमा चासोक तङनाम मनाउने गरेका छन् ।
उधौली याममा आफ्नो परिश्रमको फल विविध अन्नपातको उपलब्धता र उपयुक्त हावापानी हुने भएकोले लिम्बू जातिले चासोकलाइ ‘चासोक तङनामु’(न्वाँगी पूजा) को रुपमा भव्यताको साथ मनाउने गरेका हुन् । आजभोलि हङकङ बेलायत कतार युएई अष्ट्रेलिया अमेरिकालगायतमा बसेका लिम्बू जातिहरुले पनि यो पर्व मनाउँदै आएको किरात याक्थुङ चुम्लुङका केन्द्रिय सल्लाहाकार हर्ष सुब्वाले बताए ।
जातीय पहिचान र सँस्कृति संरक्षणको उद्देश्यले आयोजना गरेको साप्ताहव्यापी चासोक तङनाम साँस्कृतिक पर्यटन उत्सव धरानमा रहेका सक्रिय जनजाति लिम्बू राई तामाङ मगर सुनुवार नेवार गुरुङ शेर्पाका साँस्कृतिक नृत्य तथा झाँकी प्रदर्शनी गरिएको छ । उत्सवमा लिम्बू जातिको परम्परागत साँस्कृतिक खेल जनजाति परिहन प्रदर्शन त्येअङसी सिरिजंगा जयन्ती लिम्बू तथा जनजाति खाना तथा पेय परिकार रोटेपिङ रोमाञ्चकारी मनोराजक खेल समावेश गरिएको छ । मनोरत्तजनका लागि विभिन्न राष्ट्रिय कलाकारहरु पनि बोलाईएको छ ।
Published in Nayapatrika Daily