Social Icons

मनसुन हाईकिङ

नयाँ पदमार्गको खोजी
  • देबेन्द्र कार्की
 खुल्ला आकाश । रिमझिम पानीमा छमछम जङ्गलको हिँडाइ आनन्दै बेग्लै । असारे भाका सुन्दै कोइलीको मिठो स्वर गुनगुनाउँदै माथि उड्ने बादलसँगै लुकामारी खेल्दाको क्षण बिछट्टै रमाइलो ।
पर्यटन प्रवद्र्धनमा चिन्तित एउटा झुण्ड बनाएर हामी नयाँ हाइकिङ रुट खोज्दै जङ्गल सफारीमा लाग्यौं । साउनको पहिलो हप्ता हामी झापाको कन्काई नगरपालिकाअन्तर्गत सुकेडाँगी सामुदायिक वन क्षेत्रमा पस्यौं । यो सुरुङ्गा बजारबाट करीब ४ किमी उत्तरमा पर्छ । छरपस्ट घरहरु । गाउँले पाराका घरहरु भत्काउँदै कङ्क्रिट जङ्गल निर्माणोन्मुख गाउँ । शहरको कोलाहल, प्रदूषणबाट बिल्कुलै मुक्त गाउँ, तर शहरीकरणको नाममा वातावरणमैत्री घर भत्काएर पक्की घर निर्माण पनि भइरहेका रहेछन् ।


सुकेडाँगी पूर्वमा नसुनिएको ग्राम । अर्थात् प्रचारमा नआएको पर्यटकीय स्थल । आधुनिक शहरभन्दा शान्त र प्रदूषणमुक्त छ । जङ्गल छ । जङ्गल र गाउँलाई छुट्याउन ‘फायर लाइन’ अर्थात् बाटो निर्माण गरिएको छ । त्यो बाटो मिचेर गाउँले बस्ती बसाउन सक्ने अवस्था छैन । अर्को, जङ्गलमा आगलागी भयो भने बाटो काटेर मानव बस्तीमा पस्ने आँट आगोले गर्दैन । कारण, बस्ती र जङ्गलको रेखा छुट्याउन बीचमा बाटो निर्माण गरिएको छ ।
झापाको प्रसिद्ध पर्यटकीय स्थल जामुनखाडीबाट छिरेर एक दिन हाइकिङ जान सकिने रुट रहेछ । जामुनखाडीबाट ‘अग्निरेखा’ हुँदै २ किमी पश्चिम–उत्तर लाग्दा सुकेडाँगी सामुदायिक वन समूहको भवनमा पुगिन्छ । पश्चिममा माइधार किनारमा रहेको धनुषकोटी धार्मिक स्थल छ । माथि डाँडामा पाण्डे दरबार, त्यसमाथि इलामको सिमानामा रहेको झण्डी चुलीडाँडा, वन परिसरमा रहेको पाटाखाडी पोखरी, मन्का खोला, सन्का खोला र तीरतीरे धारा हुँदै झण्डी डाँडा, त्यसपछि दोमुखा, धनुषकोटीसम्मको पदयात्रा गर्न सकिन्छ ।
यात्राको हाम्रो सन्देश थियो–प्रकृतिको जति नजिक भइन्छ, उति जीवन सहज र स्वच्छ हुन्छ । भ्रमण, उचित आहार–विहार र नियमित यात्राबाट निरोगी बन्न सकिन्छ । एक दिन सामुदायिक वनको प्रगति नियाल्यौं । त्यसपछि पर्यटन प्रवद्र्धनका अभियन्ता शेर्पा दावाछिरिङ, रिना घले, सामुदायिक वनका अध्यक्ष गंगाप्रसाद ढुङ्गेल, उपाध्यक्ष कमल ढकाल, सचिव देबेन्द्र रिसाल, कलाकार हिम्मत नेम्वाङलगायतको टोली जङ्गल सफारीमा लाग्यौं । चर्को घाम, निधारभरि पसिना । हाम्रो रोमाञ्चक यात्राले यिनको पर्वाह भएन । विभिन्न प्रजातिका रुख–बिरुवा, घाँसे मैदान, हरिया फाँटले हामीलाई शीतलता प्रदान गरिरहेको थियो ।
बीच जङ्गलमा पोखरी रहेछ । इतिहासको मनमोहक पोखरी विगतमा पाटा कुवाउन प्रयोग गरिएको रहेछ । हाल भने वनले संरक्षण शुरु गरेको छ, पोखरीको । जङ्गलभित्र नौका बिहार गर्न सकिने रहेछ । फेसबुक वालमा सजाउन हामीले मिलाईमिलाई फोटो खिच्यौं । रिना घले भन्दै थिइन्–यस्तो रमाइलो यात्रा गर्ने हामी पहिलो यात्री बन्यौं । यात्राका दृश्य पर्यटन बोर्डका अध्यक्ष निरौला दाइसम्म पु¥याउँछु ।’ उनले यहाँको महत्व र आकर्षणबारे मुभी क्यामेरामा बाइटसमेत कैद गर्न भ्याइन् । क्रियटिभ फाइन ग्यालरीका कलाकार हिम्मत नेम्वाङले अघि लागेर घाँस पन्छाउँदै बाटो बनाए । हामी पछि–पछि लाग्यौं । वनमा भएको लोभलाग्दा दृश्य आँखाभरि कैद ग¥यौं, केही क्यामेरामा पनि । चराको चिर्बिर आवाज सुन्दै स्वच्छ अक्सिजन लिँदै हामीले सन्का खोलाको फेरो मा¥यौं । मन्का खोला पनि त¥यौं ।
प्रकृतिप्रेमी हाम्रो समूह बिहान ७ बजे सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहको कार्यालयबाट नयाँ रुट खोज्दै पदयात्रामा निस्किएको थियो । हाम्रो गन्तव्य पाटाखाडीलाई बायाँ छेकेर सुन्तले गैरी लाग्यौं । वन सुन्तला पाइँदो रहेछ, तर अहिले सिजन नभएकोले हामीले खान पाएनौं । त्यसपछि कहिल्यै नसुक्ने तीरतीरे धारा पुग्यौं । सालका पातमा पानी थापेर शेर्पाजी, रिना र मैले पियौं । झाडी पन्छाउँदै हाम्रो यात्रा जोरबुट्टेतिर बढ्यो । रुखका जरा पत्र–पत्र भएर बनेका रुखले हामीलाई अचम्मित बनायो । त्यसपछिको गन्तव्य झण्डी चुली बन्यो । बाटोभरि लक्ष्मी राईले चुलीको विशेषता सुनाएका थिए । त्यहाँ पुग्दा मन आनन्दित भयो । दक्षिणतिर तराईका र उत्तरतिर पहाडको हावा एकै चोटी लिन भ्याऔं । यो आधी इलाम र आधी झापाको भागमा पर्छ । ‘प्रचार–प्रसारको अभावमा ओझेलमा परेरमात्र हो, नत्र भेडेटारलाई बिर्साउने क्षेत्र हो ।’ आँखाभरि इलाम सम्झाउदै गरेका दावा शेर्पा बोले ।
यहाँबाट इलाम बजार प्रष्ट देखिन्छ । तराईको सुन्दर फाँट झनै लोभलाग्दो देखिन्छ । चर्को घाम र पूर्ण तयारीविनाको हाम्रो यात्रा घोर्ले भीर हुँदै जगन पाण्डे दरबारमा आइपुग्यौं । कालु पाण्डे शक्तिमा भएका बेला दरबारमा निकै रवाफिला मानिएका जगन पाण्डे एकान्त बस्न आउदा जङ्गलभित्र फौजसहित बसेको दरबारको भग्नावशेष यहाँ पाइन्छ । यो दरबार संरक्षणको पर्खाइमा छ । पुराना भवन यहाँको आकर्षणको केन्द्र मानिन्छ । दरबारको अस्तित्व मेटिन लागेपछि सुकेडाँगी वन समूहले संरक्षण शुरु गरेको छ । ऐतिहासिक वस्तुको संरक्षण गर्न मानव जातिको दायित्व हो । इतिहास भनेको खुल्ला किताब हो । यस्ता ऐतिहासिक स्थानको संरक्षण गर्न सकियो भने भावी पुस्ताले यसको अध्ययन अवलोकन गर्न सक्छन् । त्यस पछि हामी एक फन्को मारेर माईखोलाको पूर्वी तटमा रहेको धार्मिक स्थल धनुषकोटी धाममा प्रवेश ग¥यौ ।
यात्रामा स्थानीय धानको भात, लोकल कुखुरा, स्थानीयले फलाएको टमाटरको अचार स्वादिलो थियो । सबै अग्र्यानिक थिए । खाना खाएर ३ बोतल पानी बोकेर हामी धनुषकोटी धाम हुँदै पाण्डे दरबार लाग्यौं । धनुषकोटी धामबाट आधा घण्टा जङ्गलको बाटो उकालो चढेपछि पाण्डे दरबार पुगिन्छ । माईखोलाको पूर्वी तटमा दुईवटा सुविधायुक्त वनभोज स्थल निर्माण गरिएको छ । दैनिक पिकनिक खेल्न आउनेको भीड हुन्छ । धनुषकोटी धाममा धार्मिक आस्था राख्ने मान्छे बढी आउँछन् । २०६० सालदेखि प्रचारमा आएको धनुषकोटीमा माघे सङ्क्रान्तितिर साउन महिनाभरि भीड हुन्छ । विवाह, व्रतबन्ध, श्राद्ध गर्न पनि यहाँ टाढा–टाढाबाट मान्छे आउने गर्दछन् । बाटोभरि घना जङ्गल छ । जङ्गलको यात्रा गर्दा मन प्रसन्न हुन्छ । साताभरिको थकान भुल्न सकिन्छ । स्वच्छ हावाले मन सिञ्चित हुन्छ । व्यस्तता र शहरी कोलाहल बिर्सन भए पनि महिनामा एकपट हाइकिङ गर्नु राम्रो हो । चिसो हावामा हिँड्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । झापालीहरुलाई यो रुटमा यात्रा गर्नु उपयुक्त छ । यहाँ होम स्टेको व्यवस्था गर्न सकियो भने झन् राम्रो हुन्छ ।
कसरी पुग्ने
झापाको सुरुङ्गा बसपार्कबाट ३ किमी सुकेडाँगीसम्म मोटरसाइकल, भ्यान, ट्याक्सीबाट पुग्न सकिन्छ । सुकेडाँगीबाट तीरतीरे धारा, झण्डी डाँडी, पाण्डे दरबार हुँदै धनुषकोटी धामसम्म दिनभरिमा छिचल्न सकिन्छ ।
हाइकिङ सावधानी
–रुटको पहिचान गर्ने, बाटोको विषयमा जानकारी लिने ।
–मनसुनको समयमा छाता र रेनकोट बोक्ने, हिँड्न सजिलो हुने पहिरन लगाउने ।
–पानी र फलपूmललगायत स्वास्थ्यवद्र्धक खानेकुरा बोक्ने ।
–सन ग्यास, डायरी, क्यामेरा बोक्ने, प्राथमिक उपचारका सामग्री बोक्ने ।
–पानी बोक्ने ।
Published in Blast Times Daily on aug. 31m 2014