Social Icons

गन्तव्य राजारानी सिमसार



-देबेन्द्र कार्की
धरानदेखि करिब ३६ किमि टाढा पूर्वाेत्तरमा रहेको धनकुटाको राजारानी गाविसमा अवस्थित सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको नमूना भए पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको छ । समुन्द्र सतहदेखि करिब एक हजार ८ सय ५० मिटर उँचाइमा राजारानी सानो उपत्यकाको रुपमा अवस्थित छ । यहाँको प्रमुख आकर्षणको केन्द्र भनेको रानीताल, तालछेउछाउमा रहेका ऐतिहासिक मन्दिरहरु हुन् । पूर्वाञ्चलमै सामुदायिक विद्यालयबाट होटल म्यानेजमेन्टसम्बन्धी अध्यापन गराइने एकमात्र विद्यालय पुण्य उच्च माविलाई पनि यो क्षेत्रको आकर्षणको केन्द्र मान्न सकिन्छ ।

सिमसारको रुपमा रहेको यो ताल क्षेत्रमा केही समयअघि स्थानीयवासीले धान खेती गरिरहेका थिए, पछि राजारानी ताल बनाए । पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखेपछि स्थानीयको सक्रियतामा २०६१ सालदेखि ताल निर्माण गरी माछापालन सुरु गरिएको छ । पूर्वपट्टि रानीताल निर्माण भइसकेको छ । उत्तरतर्फ राजाताल निर्माणको तयारी अवस्थामा रहेको छ । करिब दुई सय रोपनी क्षेत्रफलमा रहेको सो क्षेत्रको संरक्षण र सम्बद्र्धनको जिम्मेवारी माङ्घाना कीर्तिपुर सामुदायिक वन उपभोक्ता समूहले लिएको छ ।
पूर्वगाविस अध्यक्ष एवं पुण्य उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष अगमबहादुर थापाका अनुसार लामो समयअघि सो क्षेत्रमा विशाल ताल थियो । सोही तालको नामबाट गाविसको नामाकरण गरिएको हो । तालछेउछाउ फोहोर गर्न मिल्दैनथ्यो । कसैले फोहोरमैला गरे तत्काल बिरामी हुने र मृत्युसमेत हुने गरेको भनाइ छ । आजभोलि पनि रानीतालमा नुहाउने जो कोही रोगव्याधी र पापबाट पनि मुक्त हुने जनविश्वास कायम छ ।
स्थानीय व्यापारी कालिका लिम्बूका अनुसार पहिले ताल विशाल थियो । ताललाई स्थानीयवासीले अतिक्रमण तथा फोहोरमैला गरेका कारण ताल फुटेको भनाइ छ । ताल फुट्दा कयौं मान्छे र वस्तुभाउसमेत बगेर गएको स्थानीय बूढापाकाहरु बताउँछन् । ताल फुटेर गएको खोलालाई खदम खोला भनिन्छ, जुन सुनसरी र मोरङको सिमाना हुँदै बगेको छ । राजारानी मुहान भएको त्यही खदम खोला तल आइपुग्दा गछिया खोला भएको छ । यो राजारानी ताल फुटेर गएको स्थान काठमाडौं उपत्यकाको चोभारको गल्छी जस्तै छ ।
विशेषता राजारानी धार्मिक, आर्थिक, सामाजिक एवं जैविक विविधताले भरिपूर्ण मानिन्छ । यहाँको मुख्य विशेषता भनेको धार्मिक पर्यटकीय गन्तव्य नै हो । पृथ्वीको सृष्टिकालदेखि नै तालको रुपमा रहेको राजारानीको छुट्टै विशेषता छ ।
पूर्वमा रानी ताल छ (जसलाई हाल संरक्षण गरिँदैछ ।) उत्तरमा राजाताल (यो अहिले सिमसारको रुपमा छ) दुवैतिरको डाँडामा मन्दिर छ । बीचमा घना जङ्गल भएको एउटा पोखरीसमेत छ, जसलाई लिम्बू भाषामा माङ्दुङसीङ भनिन्छ । पावरोक (राजा) र मावरोक (रानी) भेला भएर प्रेमालाप गर्ने र समसामयिक विषयमा छलफल गर्ने स्थानको रुपमा माङ्दुङसीङ रहेको छ । यहाँ आदिवासी जनजाति लिम्बूहरुको बाहुल्यता छ । त्यसै कारणले उनीहरुको लिम्बू भाषामा नामाकरण गरिएको पाइन्छ ।
राजारानी ताल ऐतिहासिक धार्मिक महत्व र जैविक विविधताले भरिपूर्ण भएकोले हाल संरक्षण गरी वैशाख र मङ्सिरे पूर्णिमामा भव्य पूजाआजा गरिँदै आएको छ । बैशाखे पूर्णिमामा मेलाको आयोजना गरिँदै आएको रानीताल संरक्षण समितिका अध्यक्ष टेकरत्न चेम्जोङले जनाए । मेलाको समयमा भक्तजनहरुले जे वरदान मागे पनि पूरा हुने र पाप पनि नष्ट हुने जनविश्वास रहँदै आएको छ । ‘पाप मोचन र ताल अवलोकनका लागि धरान, विराटनगर, इटहरी, काठमाडौंलगायत्का ठाउँबाट मान्छेहरु आउने गरेका छन् ।’ चेम्जोङले भने ।
विकासको पूर्वाधार पर्यटकहरुको चाप दिनदिनै बढ्दै गएको छ तर विकासका आवश्यक पूर्वाधार भने निर्माण गर्न बाँकी छ । यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि खान र बस्न स्तरीय होटल–लजको व्यवस्था हुन सकेको छैन । धरानदेखि भेडेटारसम्म बाटो पिच भए पनि राजारानीसम्म पिच हुन सकेको छैन । कोशीटप्पु, वेतनाजस्तै यो क्षेत्र पनि सिमसार क्षेत्रको रुपमा रहे पनि सरकारी तवरबाट सिमसार क्षेत्र घोषणा हुन सकेको छैन । सिमसार क्षेत्र घोषणा गरी जङ्गल, जल र जमिनलाई संरक्षण गर्ने हो भने नेपालको पूर्वी क्षेत्र भ्रमणका लागि आउने पर्यटकहरु राजारानी नपुगी फर्कन सक्दैनन् । राजारानी पश्चिमका पर्यटकीय गाउँ भनिएका घोडेपानी, सिरुबारी, घले गाउँजस्तै यसलाई पर्यटकीय गन्तव्य बनाउन व्यवस्थापनको अभाव देखिन्छ । राजारानीलाई प्रकृतिले अनुपम सौन्र्दय दिए पनि व्यवस्थापन भने कमजोर छ । पर्यटकीय नमूना गन्तव्य बनाउन बाटो, बिजुली र बासका साथै खानेपानीको उचित व्यवस्थापन गर्न स्थानीय निकाय एवं सरोकारवाला जुट्नुपर्ने देखिन्छ ।
संरक्षणका प्रयास यहाँ मासिक लगभग एक हजार आन्तरिक पर्यटक भित्रिने गरेका छन् । हल्याण्ड, कोरियालगायत् देशका पर्यटकहरुले समेत यहाँको रमणीयता अवलोकन गरिसकेका छन् । पर्यटकहरुको चापलाई दृष्टिगत गर्दै सिमसारको रुपमा रहेको रानीताललाई १३ लाखको लागतमा पूर्णजीवित गरी माछापालन, बोटिङ, डेटिङ र पिक्निक स्पट निर्माण गरिएका छन् ।
होटलको समस्या भएका कारण स्तरीय होटल व्यवस्थापन गर्न पूर्व शान्तिमन्त्री एवं राजारानीका स्थानीयवासी रकम चेम्जोङको पहलमा एक करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरी अत्याधुनिक होटल निर्माण कार्य थालिएको छ । ३० वटा कोठा क्षमता भएको सो होटलमा एकैपटक झण्डै सयजना पर्यटक बस्न सक्ने व्यवस्था मिलाउन लागिएको पूर्वगाविस अध्यक्ष थापाले जानकारी दिए । राजारानीलाई नमूना गन्तव्य बनाउन यहाँ ‘होम स्टे’ कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ । अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने काम पनि तीव्र भइरहेको छ ।
राजारानीको ऐतिहासिकता, जैविक विविधता, धार्मिक, सामाजिक रीतिरिवाजलगायत्का विशेषताबारे देश–विदेशसम्म प्रचार–प्रसार गर्न राजारानी महोत्सव गर्ने तयारीसमेत भइरहेको ताल संरक्षण समितिका अध्यक्ष चेम्जोङले जनाए । रानीतालनजिकै रहेको राजाताललाई पनि तालको आकार दिने प्रयास भइरहेको छ । यी दुईवटा ताल निर्माण हुने हो भने फिसिङ–बोटिङ गर्न र पिकनिक खान आउनेको ओइरो लाग्नेछ । धरानमा रहेको वातावरण तथा पर्यटन विकास केन्द्रले समेत यहाँ पर्यटकीय क्षेत्र विस्तारका लागि चासो देखाएको छ ।
नमूना पर्यटन गाउँ बनाउनका लागि विभिन्न दूतावास तथा गाविस, जिविसबाट सहयोग मागेर विस्तार गर्न लागिपरेको स्थानीयवासीले बताए ।