Social Icons

वाह ! तमोरको र्‍याफ्टिङ

  •  देवेन्द्र कार्की
'बगिरहेको सङ्लो पानीसँगै बग्दा आनन्दै बेग्लै हुँदो रहेछ,' घुमघाममा खुब रुचि राख्ने धरानका युवा राजन श्रेष्ठले गत शनिबार तमोरको र्‍याफ्टिङको मज्जा लिएपछि भने, 'मजा त यहाँ पो रहेछ, त्यही भएर विदेशी पर्यटक र्‍याफ्टिङमा झुम्मिँदा रहेछन् ।' आफ्ना दौँतरीको हुल बाँधेर राजनले तमोरमा ५२ किमी र्‍याफ्टिङको मजा लुटे । राजनसमूहको र्‍याफ्टिङ यात्राबाट लोभिएका धरान-१५ का दीपेन्द्र कार्कीले पनि आगामी २९ गते र्‍याफ्टिङका लागि दुईदिने प्याकेज कार्यक्रम तय गरिसकेका छन् । 'पानीमा खेल्न साह्रै रमाइलो हुन्छ,' दीपेन्द्रले भने, '१५ जनाको समूह क्याम्पियन तमोर र्‍याफ्टिङ टुरमा जान लागेका छौँ ।'

'र्र्‍याफ्टिङमा जो-कोही रोमाञ्चित हुन्छन्,' शनिबार नै र्‍याफ्टिङमा सहभागी धरान-१६ की रीता युङसुहाङले भनिन्, 'साथीहरूसँगै र्‍याफ्टिङ गर्न रमाइलो हँुदो रहेछ । समय मिले फेरि गइन्छ ।' निकै जोखिम यात्रा मानिए पनि आजभोलि महिला पनि र्‍याफ्टिङमा रमाउन थालेका छन् ।
रीतासँगै धरान-१७ की संजिता लिम्बू, लाक्पाविकी शेर्पाले पनि र्‍याफ्टिङको मजा लुटेका छन् । धरान-१० का सुनीता खड्गी र उनका श्रीमान् उदयले सँगै र्‍याफ्टिङको आनन्द लिए ।

सप्तकोसीको शाखा नदी तमोरमा र्‍याफ्टिङको सम्भावना देखेर सात वर्षअघि तमोर रिभर एड्भान्चर प्रालि धरानले र्‍याफ्टिङ सेवा सुरु गरे पछि पानीसँग रमाउनेहरू निकै बढेका छन् । धनकुटाको मूलघाटदेखि सुनसरीको चतरासम्म बग्न चाहनेको संख्या उकालो लागेको छ । व्यावसायिक रूपमा ३ वर्षदेखि र्‍याप\mटिङ गर्नेको भीड लाग्न थालेको र्‍याफ्टिङ सञ्चालक मदन ढकालले बताए । अघिल्लो वर्ष चार सय आन्तरिक तथा बाह्य पर्यटकले र्‍याफ्टिङ गरेको उनले बताए । यो वर्ष सुरु भएपछि एक हप्तासम्मको रिर्जभ पनि हुन थालेको छ । बुधबार धरान नगरपालिकाको संयोजनमा बंगलादेशका पत्रकारको टोली र्‍याफ्टिङ जाँदै छ । शुक्रबार उर्लाबारीको एक समूहको दुईदिने क्याम्पियन कार्यक्रम रहेको ढकालले बताएका छन् ।
गत शनिबारदेखि मात्र यो वर्षको र्‍याफ्टिङ सुरु भएको हो । यतिवेला आन्तरिक पर्यटकको भीड बढेको सञ्चालक ढकाल बताउँछन् । फाट्टफट्ट विदेशी पर्यटक प्नि आउन थालिसकेको उनले बताए । 'अघिल्लो वर्ष विदेशीको मुख देख्न पाइएन,' ढकालले भने, 'यो वर्ष विदेशीसँग पनि डिल भइरहेको छ ।' मूलघाटदेखि चतरासम्म दिवा सेवाका लागि सात घन्टा र रात्रिकालीनका लागि दोब्बर समय लाग्ने र्‍याफ्टरहरूले बताएका छन् ।
नदीको बाटोमा पर्ने पातले, त्रिशूले, ज्यानमारे र तरबारेजस्ता आकर्षक छाँगामा आनन्द र जोखिम दुवै हुने गरेको यात्रामा सहभागी बताउँछन् । छाँगामा पस्दा र नदीको छालमा बग्दा र्‍याप\mटिङमा सहभागीले साँच्चै आनन्दित महसुस गर्ने र्‍याफ्टर माइलाले बताए ।
र्‍याफ्टिङ अहिले आन्तरिक पर्यटकका दृष्टिकोणले निकै महत्त्वपूर्ण बन्दै गएको छ । र्‍याफ्टिङमा आउने सबैलाई लाइफ ज्याकेट उपलब्ध गराइएको छ । रेस्क्यु गाइड पनि सँगै हुने भएकाले पौडी खेल्न नजान्नेलाई पनि त्यति जोखिम नहुने माइलाले बताए । मस्र्याङ्दी र भोटेकोसीपछि तमोर र्‍याफ्टिङका लागि उपयुक्त गन्तव्य मानिन्छ । पछिल्लो समय मस्र्याङ्दी र भोटेकोसीभन्दा तमोरमा र्‍याफ्टिङ गर्नेको संख्या बढेको व्यवसायी बताउँछन् ।
नेपाल, भारत र चीनको सिमानामा उद्गमस्थल भएको तमोर नदी पूर्वी नेपालको तीव्र वेगवान नदीमध्येको एक हो । शान्त, मनोरम तर साहसिक जलयात्रा गर्न चाहने खेलाडीका लागि यो नदी उपयुक्त मानिन्छ । यहाँ र्‍याफ्टिङ गर्दा ८८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा, ८५८६ मिटर अग्लो कञ्चनजंगालगायत हिमाल र आकर्षक पहाडको दृश्यावलोकनसमेत गर्न सकिन्छ ।
मंसिरदेखि र्‍याप\mटिङ सिजन सुरु भई चैतसम्म रहने गर्छ । ताप्लेजुङको दोभानदेखि मूलघाट, चतरा र ओखलढुंगाको हर्कपुरसम्म दुईवटा बोट सञ्चालनमा छन् । ६ महिना सञ्चालन हुने र्‍याफ्टिङमा बेलायत, अमेरिका, डेनमार्कलगायत सार्क राष्ट्रबाट पनि पर्यटक आउने गरेका छन् । तमोर जलमार्ग भौगोलिक विविधताका कारण उत्कृष्ट रहेकाले पूर्वतिर पर्यटक तानिन थालेका छन् । मूलघाटबाट चतरा ३४ किमी छ । ताप्लेजुङबाट चतरासम्मको यात्राका लागि भने पाँच दिनको समय लाग्ने माइलाले बताए । यस्तै, उदयपुर र ओखलढुंगाको संगम हर्कपुरबाट सुनकोसीमा जलयात्राका लागि पनि पाँच दिन लाग्छ । नेपाल पर्यटन बोर्डबाट मान्यताप्राप्त यस रिभर एडभेन्चर प्रालिले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै र्‍याफ्टिङ सेवा प्रदान गर्दै आएको छ ।
(published in Nayapatrika Daily)