Social Icons

धरानेहरूको एयरपोर्ट सपना


  • पूर्वको सुन्दर नगरी धरान धार्मिक, सामाजिक, आर्थिक, ऐतिहासिक विविधताले भरिपूर्ण छ । यो पर्यटकीय सम्भावना बोकेको पूर्वी पहाडी जिल्लाको प्रवेशद्वार पनि हो । तर, राजधानीलगायत अन्य सहरसँग जोड्ने हवाई मार्गको अभावले धरान पिरोलिएको छ । लाहुरेहरूको सहर भनेर पहिचान बनाएको धरानबाट हवाई मार्ग भएर यात्रा गर्न करिब ३८ किमी टाढा विराटनगर धाउनुपर्ने बाध्यता छ । विराटनगरबाट हवाईजहाज चढ्नेहरूको तथ्यांक हेर्दा ६० प्रतिशत यात्रु धरान तथा धरानको बाटो भएर आउने पूर्वी पहाडी जिल्लाका बासिन्दा छन् । यही तथ्यांकलाई आधार मान्ने हो भने पनि धरानलाई हवाई मैदानको आवश्यकता रहेको सरोकारवालाको भनाइ छ ।
    धरानमा एयरपोर्ट बनाउन माग भएको दुई दशक बितेको छ । स्थानीयदेखि राष्ट्रियस्तरसम्म राम्रै बहस भइसकेको छ । धरानमा शक्तिशाली नेताको खडेरी परेका कारण धरानेहरूले आफ्नै करेसाबारीबाट हवाईजहाज चढ्ने सपना पूरा गर्न नसकेको स्थानीयको गुनासो छ । पूर्वको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद तथा विविध सांस्कृतिक एकताको केन्द्रको रूपमा विकास गर्ने भनिएको सहरमा राजधानी जोड्ने सोझो हवाई मार्ग नहुँदा निकै समस्या भएको सरोकारवाला बताउँछन् ।
    यद्यपि पछिल्लो समयमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल निर्माण गर्न नागरिक उड्डयन प्राधिकरणलाई नीतिगत र सैद्धान्तिक रूपमा स्वीकृति दिएकाले अब धरानमा विमानस्थल बन्ला कि भन्ने आशा भने पलाएको छ । प्राधिकरणले धरान-१७ स्थित डाँडाघोपामा प्रारम्भिक सर्वेक्षण गरेर बनाउन सकिने निष्कर्षसमेत निकालेको छ । 

    तत्कालीन नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टसहितको प्राधिकरणका उच्च पदाधिकारीले ६ महिनाअघि सो क्षेत्रको स्थलगत निरीक्षण र अवलोकन गरेका थिए । प्राधिकरणले विमानस्थल निर्माणका लागि करिब १८ बिघा क्षेत्रफलको जग्गा चाहिने बताएको छ । डाँडाघोपामा सो क्षेत्रफलबराबरको जग्गासमेत उपलब्ध छ । त्यहाँ नगरपालिका, यती इन्कर्पोरेट र व्यक्तिहरूको निजी जग्गा रहेको छ । जग्गामा सैद्धान्तिक सहमति भए एयरपोर्ट निर्माण सम्भावना रहेको धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा बताउँछन् ।
    सर्वे टोलीले धरान विमानस्थल निर्माणका लागि लागत, नक्सांकन, डिजाइन, वातावरणीय प्रभावको विस्तृत अध्ययन प्रतिवेदन बुझाइसकेको सर्वेमा सहभागी इन्जिनियर सुमन थापाले बताए । विस्तृत सर्वेअन्तर्गत प्राधिकरणका तर्फबाट आएका नर्थस्टार इन्जिनियरिङ कन्सलट्यान्ट पुल्चोकका इन्जिनियर थापा र सर्वेयर विजय चौहानले नक्सांकनका लागि स्थलगत अवलोकन र नापजाँच गरिसकेका छन् । थापाले सानादेखि मध्यमस्तरका विमान 'ल्यान्डिङ र टेकअफ' गर्न चाहिने आवश्यक धावनमार्गका लागि डाँडाघोपामा रहेको जमिन अवलोकन गरेको बताए । स्थलगत अवलोकनपछि इन्जिनियर थापाले भने, 'प्राधिकरणले दिएको कामअनुसार हामीले डाँडाघोपामा रहेको जमिनमध्ये १५ सय मिटर लम्बाइ र तीन सय मिटर चौडाइभित्रको जमिनको नक्सांकन गरेका हौँ ।' विमानस्थलका लागि १० वर्षअघि सोही ठाउँमा यती इन्कर्पोरेट प्रालिले सानाखाले विमान सञ्चालन गर्न स्थानीय ८० जना जग्गाधनीसँग रहेको सात बिघा जग्गा खरिद गरिसकेको छ ।
    प्रारम्भिक सर्वेमा उत्तरतिर चुरे पहाड परे पनि तीनतिर खुला रहेको र अन्यत्रजस्तै हुस्सु नलाग्ने देखिएकाले विमानस्थलका लागि सो स्थान अत्यन्त उपयुक्त भएको नगरपालिकाका योजना शाखाका इन्जिनियर राजु पोखरेलले बताए । हाल नपाले सो क्षेत्रमा रहेको जग्गा सिमांकन गर्न पोखरेलको नेतृत्वमा टोली खटाएको छ । टोलीले जग्गाको सिमांकन गरी नगरपालिकामा प्रतिवेदन बुझाउनेछ ।
    पहिले साना विमानका लागि मात्र योजना बनाइए पनि पछिल्लो समयमा विराटनगर विमानस्थल जस्तै बनाउन सकिने सम्भावना भएकाले थप जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको विमानस्थल निर्माण सरोकार समितिका अध्यक्ष मनोज भट्टराईले बताए । थप जग्गा अधिग्रहण गर्दा ५०/६० घरपरिवारलाई मुआब्जा दिनुपर्ने हुन्छ । यसका लागि सरोकार समिति र नगरपालिकाबाट पहल भइरहेको उनले बताए । असफल मानिएको यती इन्कर्पोरेटले सोही स्थललाई विमानस्थल बनाउन यसअघि पहल गरेको र जग्गासमेत खरिद गरिसकेको भए पनि नयाँ प्रक्रियामा विमानस्थलका लागि उसको नाममा दर्ता भएको जग्गा पनि प्राधिकरणले अधिग्रहण गर्नुपर्ने अवस्था देखिएको छ ।
    एयरपोर्ट निर्माणका लागि लामो समयदेखि चासो राख्दै आएका धरान नगरपालिकाका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले तत्कालीन नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट सहभागी भएको विमानस्थल निर्माण सरोकार समितिले गरेको एक अन्तर्त्रिmयामा विमानस्थल निर्माण गरिदिए जसले गरिदिन्छ आफू त्यही पार्टीमा प्रवेश गर्ने सार्वजनिक भाषण गरेका थिए । एमालेबाट संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट प्रतिस्पर्धी बनेका नेता मेन्याङ्बोले धराने जनताको चाहना मन्त्री विष्टले पूरा गरे आफू खुलेर एकीकृत माओवादीमा प्रवेश गर्ने उद्घोष गरेका थिए ।
    एयरपोर्ट निर्माणको प्रारम्भिक सर्वे प्रक्रिया सकेपछि नागरिक उड्डयन प्राधिकरणले १८ बिघा जग्गा  प्राधिकरणको नाममा ल्याउने प्रक्रिया थाल्न धरान नगरपालिकालाई पत्र पठाएको छ । गत २० भदौमा पठाइएको पत्रमा आवश्यक प्रक्रिया मिलाएर प्राधिकरणको नाममा जग्गा पास गरेपछि मात्र एयरपोर्ट निर्माणका लागि प्रक्रिया सुरु हुने जनाइएको छ । नगरपालिकाले आवश्यक १८ बिघा जग्गा तत्काल प्राधिकरणलाई पास गरिदिए विमानस्थल निर्माण तत्काल सुरु गर्न सकिने प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले बताए ।
    सो क्षेत्रमा यती इन्कर्पोरेटको नाममा साढे चार बिघा जग्गा छ । ६ बिघा सात कठ्ठा व्यक्तिको नाममा छ । साढे सात बिघा नगरपालिकाको स्वामित्वमा छ । नगरपालिकाले स्थानीयवासीसँग छलफल गरेर  जग्गा सट्टाभर्ना दिएर प्रक्रिया सुरु गर्न सकिने देखिन्छ । जग्गा प्राधिकरणलाई दिनेबारे राजनीतिक दल र नगरपालिकाबीच यही साता छलफल गरिने खतिवडाले जानकारी दिए ।
    प्राधिकरणले नगरपालिकालाई पठाएको निर्देशनात्मक पत्रप्रति जिम्मेवार भएर जग्गा उपलब्ध गराउन सक्ने हो भने धराने जनताले आँगनबाट विमान चढ्न पाउने सम्भावना छ । यती इन्कर्पोरेटको नाममा रहेको जग्गा पनि प्राधिकरणलाई पास गर्नुपर्ने हुन्छ । यतीलाई मनाउनुपर्ने दायित्व पनि नपालाई जान्छ । सर्वसाधारणले अघिल्लो समय यतीलाई जग्गा दिए पनि हालसम्म विमानस्थल नबनेकाले निराश भएका छन् । विमानस्थल बन्ने आशाले सस्तो दरमा २५ जनाले यतीलाई जग्गा दिएका थिए ।
    विमानस्थल निर्माणको ग्यारेन्टी भए मात्र स्थानीयले जग्गा दिने सो क्षेत्रका जग्गाधनी जीवन भट्टराई बताउँछन् । 'आफ्नो ठाउँमा विकास हुनलाई स्थानीयले अवरोध गर्दैनन् ।' भट्टराईले भने, 'तर, कसरी अगाडि बढ्ने भन्ने विषयमा जग्गावालासँग नगरपालिका र एयरपोर्ट सरोकार समितिले छलफल र अन्तर्त्रिmया चलाउनुपर्छ ।' जग्गाको विषयमा हालसम्म कसैले छलफल नगरेको उनको भनाइ छ । सो क्षेत्रमा ६० घरपरिवारभन्दा बढीको जग्गा रहेको बताइएको छ ।
    (Published on Nayapatrika Daily)