Social Icons

सीप भए स्वदेशमै स्वरोजगार

  • देबेन्द्र कार्की
धरान / विभिन्न दातृ निकायको सहयोगमा भईरहेका छोटो अवधीका सीपमुलक तालिमहरुले युवापुस्ताहरुलाई आकर्षिक गर्न थालेको छ । विदेशको सपना देख्ने युवाहरु स्वदेशमा सीपमुलक तालिम लिएर आत्मनिर्भर बन्न थालेका छन् । यस्ता तालिमले युवाहरु विदेश पलायनलाई रोक्न केही हदसम्म सहयोग गरेको छ ।
सीप सिक्न घर बाहिर पनि जान नपर्ने, आफ्नै घरको खाएर सीप सिक्न पाउने र सीप प्राप्त गरि सके पछि रोजगारीमा जान पनि सहजिकरण गर्ने हुदा युवाहरु आकर्षित भएका हुन ।
सरकारी तथा निजीस्तरमा खुलेका संस्थाले निःशुल्क तालिम दिदै आएका छन् । विश्व बैक, स्वीस सरकार, लगायत सवल नेपाल, शिक्षा मन्त्रालयको इभेन्ट परियोजनाको आर्थिक सहयोगमा तालिम प्रदायक संस्थाहरुले सीपमुलक तालिम प्रदान गरे पछि धेरै बेरोजगार युवहरुाले रोजगारी पाएका छन् ।

तालिमका विषयहरु
भूकम्प प्रभावित क्षेत्रका पीडितहरु, आर्थिक रुप विपन्न पछाडी परेका समुदायका लागि प्लम्विङ, मेसन, फर्निचर मेकर, कुक, पोल्ट्री, ग्रामिण पशु स्वास्थ्य सहायक, जेटिए, तरकारी खेति, पशुपालन, आर्कवल्डीङ, हाउस वाईरिङ, आल्मुनियम फेव्रिकेटरलगायत विषयमा सिटिइभिटीसँग सम्द्धन पाएका तालिम प्रदायक संस्थाहरुले तालिम दिदै आएका छन् । उनीहरुले  साधारणतया स्वदेशमै मासिक ५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्युट सुनसरीका प्रवन्ध निर्देशक कृष्ण शाह बताउछन् । 
लम्विङ, हाउसवाईरिङ, मेसनको तालिम लिनेहरु तालिम लिइसकेपछि पूरै घर ठेक्कामा लिई काम गर्न थालेपछि राम्रो आम्लानी गर्न थालेका छन् । उनीहरु ठेकेदारको रुपमा आफुलाई राईज गदैजान थालेका छन् ।

विदेश जाँदा प्लम्बर र इलेक्टिसियनको बढि माग  हुने गरेको छ । सीपमुलक तालिम लिएका युवाहरु विदेशमा कमाउने पैसा यही कमाउन थालेको शैलजा आचार्य स्मृति प्रतिष्ठान मोरङका इन्जिनियर गणेश दाहाललेबताए । उनका अनुसार विदेशमा मासिक २०हजार देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्नसक्ने युवाहरु तालिम पाए पछि स्वदेशमा मै काम गर्न आर्कषित हुन थालेका छन् । आल्मुनियक फेव्रिकेटरको लेभल २ को तालिम लिएका इटहरी–५ का ददिराम गौतम शुरुका दिनमा विदेश जाने तयारीमा थिए तर तालिम पाए पछि स्वदेशमै मनग्य आम्दानी गर्न थालेका छन् । ‘स्वदेशमै राम्रो कमाई छ । अझ लेभल ३सिक्न पाइए यही केहीगर्न सकिन्छ ।’– पाथिभरा टेक्निकल कलेज इटहरीमा पढाउदै आएका गौतम भन्छ ।
तालिम सिक्दा विदेश जानेहरुका लागि पनि विदेशमा राम्रो काम र दाम पनि पाउने गर्छन ।  घरलगायत अपार्टमेन्ट, हाउजिङ उनीहरुले राम्रो अवसर पाउने गरेको तालिम प्रदायक संस्थाहरु बताउछन् ।  यि तालिमहरु लिन साधारणतया  कक्षा ८ देखि एसएलसी उत्तीर्ण गरेको भए पुग्छ । 
तालिमको मापदण्ड
  • एसएलसी पास गर्न नसकेका आर्थिक रूपमा कमजोर व्यक्तिले यस्ता तालिम प्राप्त गर्न सक्छन् ।
  • यि तालिम दातृ निकायको सहयोगमा प्राय निःशुल्क पाइन्छ । शुल्क तिरेर तालिम लिँदा पनि शुल्क न्यून रहेको हुन्छ ।
  • मासिक ५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सक्छन् ।
  •  तालिम लिएर मेहनेत गर्ने कोही युवा बेरोजगार हुदैनन ।
  •  ग्रामिाण् क्षेत्रका युवा धेरै यस्ता तालिममा सहभागी छन् ।
  • तालिममा आदीवासी जनजाती महिला, सिमाङकृत समुदायका लागि विशेष अवसर प्रदान गरिने गरेको छ ।
    
तालिम दिने संस्थाहरु
सीपमुलक तालिम प्रायःजसो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिइभिटी)द्वारा सम्बन्धन प्राप्त संस्थाले दिने गर्छन् । सिटिइभिटीले सम्बन्धनसँगै तालिम लिइसकेपछि सर्टिफाई गर्ने काम पनि गर्छ । सिटिइभिटी अन्तर्गतको राष्ट्रिय सीप परिक्षण समितिले सीप प्रमाणिकरण गर्ने गर्छ । प्रायः यि तालिम ३९० घण्टा अवधकिो हुने गरेको छ ।  राष्ट्रिय गैरसरकारी संस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाले पनि तालिम दिदै आएका छन् । शिक्षा मन्त्रालय मातहत रहेको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाले पनि तालिम दिँदै आएको छ । रोजगारकोषको सचिवालय हेल्भेटास, सवल नेपाल, स्वीस कन्टाक्ट, युसेपलगायत हाल ६५ संस्थाले विभिन्न ३५ विषयमा तालिम दिदै आएका छन् ।  त्यसैगरी वैदेशिक प्रवद्र्धन बोर्डले १० हजार युवालाई सीपमुलक तालिम दिने तयारी गरेको छ । स्वदेश तथा विदेश जहाँ गए पनि सिपको आवश्यकता पर्ने भएकाले विविध क्षेत्रका विषयमा तालिम दिने गरिन्छ ।
पूर्वका पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्युट इटहरी, पूर्वाञ्चल बुहुप्राविधिक कलेज धरान, झापा प्राविधीक शिक्षालय विर्तामोड, मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी, शैलजा आचार्य स्मृति प्रतिष्ठान मोरङलगायतले छोटो अवधीका सीपमुलक तालिम दिदै आएका छन् । पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्युट इटहरीले १० हजार युाव जनशक्ति तयार पारेको संस्थाका प्राविधिक संयोजक पशुपति शाहले जानकारी दिए ।

तालिम अवधी
छोटो अवधीका तालिम लिन साधारणतया तीन महिना लाग्ने गर्छ । तीन महिनाको तालिम लिएमा प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद्ले प्रमाणपत्र दिने भएकाले धेरैजसोले तीन महिनाको तालिम लिने गर्छन् । यसरी सिटिइभिटीले तीन महिनाको तालिमलाई सर्टिफाई गरी प्रमाणपत्र दिएमा विदेशमा काम पाउन सजिलो हुन्छ । तर, क्षमताअनुसार सिक्ने व्यक्तिले एक महिनामा समेत तालिम लिन सक्छन् । सिटिईभिटीअन्तर्गतको राष्ट्रिय सीप परिक्षण समितिबाट प्रमाण पत्र पाउन भने अनिर्वाय ३९० घण्टको तालिम लिनु पर्छ । समिति आफै तालिम केन्द्रमा पुगेर सीप परिक्षण (Skill Test)गर्ने गर्छ । एउटा परिक्षा केन्द्रमा बढिमा २० जना मात्र लिने गर्छ । 
(नयाँ पत्रिका दैनिकबाट प्रकाशित)